
सुर्खेत, असार १४ ।
सुर्खेतको भेरीगंगा नगरपालिका-१२ स्थित छिन्चु स्वास्थ्य चौकी भवनमा एक दिने नि:शुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। असार १३ गते शनिबार सञ्चालन भएको उक्त शिविरमा ६१३ जना स्थानीय सर्वसाधारणले नि:शुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएका छन्।
Happy Souls र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरलाई सुर्खेत महिला स्वास्थ्य क्लिनिक “हाम्रो बहिनी” सुर्खेतले सहयोग गरेको थियो भने भेरीगंगा नगरपालिका र छिन्चु स्वास्थ्य चौकीले विशेष समन्वय गरेका थिए।
विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान
शिविरमा विभिन्न विधाका चर्चित विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको प्रत्यक्ष जाँच तथा परामर्श दिएका थिए:
- डा. सोजन सापकोटा (वरिष्ठ कन्सल्टेन्ट सर्जन)
- डा. सुशील समदर्शी (मनोरोग विशेषज्ञ)
- डा. गणेश तिवारी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ)
- डा. रामबहादुर बिष्ट (स्त्री रोग विशेषज्ञ)
- डा. सरोज गिरी (जनरल फिजिसियन)
शिविरमा उपलब्ध गराइएका सेवाहरू
बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन भएको शिविरमा निम्न सेवाहरू पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको थियो:
- सामान्य स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श
- शल्यक्रिया सम्बन्धी परामर्श
- हाडजोर्नी तथा नशा रोग सम्बन्धी परीक्षण तथा उपचार परामर्श
- स्त्री तथा प्रसूति रोग सम्बन्धी परीक्षण र परामर्श
- मानसिक स्वास्थ्य (मनोरोग) सम्बन्धी परीक्षण तथा परामर्श
- उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोग सम्बन्धी परीक्षण तथा परामर्श
- आवश्यकतानुसार थप उपचार तथा रिफरल सेवा
- स्वास्थ्य शिक्षा तथा परामर्श सेवा र क्षयरोग माइक्रोस्कोपिक शिविर
भौगोलिक रूपमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका ग्रामीण तथा विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस शिविरबाट ठुलो संख्यामा स्थानीयहरू लाभान्वित भएका छन्। आफ्नै पायक पर्ने स्थानमा देशका नाम चलेका विशेषज्ञ डाक्टरहरूबाट नि:शुल्क सेवा र परामर्श पाउँदा स्थानीय सेवाग्राहीहरू निकै हर्षित देखिएका थिए।




