
नेपालगन्जका प्रमुख चोकमा यात्रु तानातान गर्ने गतिविधि फेरि बढ्यो, ट्राफिक प्रहरीकै अगाडि खुलेआम हैरानी ।
केही महिनाअघि यात्रुलाई दुःख–हैरानी दिएको भन्दै बाँके प्रहरीले नेपालगन्जका बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्कलगायतका स्थानबाट यात्रु तानातान गर्ने तथा हैरानी दिने कार्यमा संलग्न १८ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको थियो।
प्रहरीको कारबाहीपछि केही समय यस्ता गतिविधिमा कमी आए पनि पछिल्लो समय नेपालगन्जका विभिन्न प्रमुख चोकमा पुनः यात्रु तानातान गर्ने गतिविधि बढ्न थालेका छन्।
विशेषगरी चोकभन्दा अगाडि नै बसेर यात्रुलाई बोलाउने, रिक्सा चढ्ने कि भनेर पटक–पटक सोध्ने, यात्रुको बाटो छेक्ने तथा आफूले चाहेको सवारीसाधनमा चढाउन तानातान गर्नेजस्ता गतिविधि देखिन थालेका छन्।
सडकमा खुलेआम यात्रु तानातान भइरहँदा नजिकै ट्राफिक प्रहरीको उपस्थिति समेत देखिने गरेको छ। प्रहरीकै अगाडि यस्ता गतिविधि भइरहँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै सर्वसाधारणले प्रहरीको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्।
यस्ता गतिविधिबाट यात्रु मात्र नभई पैदलयात्री तथा सडकमा सवारीसाधन चलाउने चालकसमेत हैरान हुने गरेका छन्। सार्वजनिक स्थानमा यात्रुलाई सहज र सुरक्षित आवागमनको वातावरण बनाउन सम्बन्धित निकायले नियमित निगरानी बढाउँदै यात्रु तानातान तथा हैरानी दिने गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।




