
नेपालगञ्ज, रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा प्रलयकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल पूर्व प्रहरी संगठन, बाँकेले बाढीपीडितहरूको सहयोगार्थ रु. १ लाख १ हजार राहत रकम उपलब्ध गराएको छ।
२०८३ भदौ १० गते बिहान करिब ८ः४५ बजे तिब्बतको केरुङ क्षेत्रबाट आएको बाढीका कारण रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले ठूलो मानवीय पीडा सिर्जना गरेको छ। विपद्को उक्त दुःखद् परिस्थितिमा पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुयाउने उद्देश्यले नेपाल पूर्व प्रहरी संगठन, बाँकेका इच्छुक सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो।
संकलित रु. १ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको संगठनले जनाएको छ।
२०८३ भदौ २६ गते आयोजित हस्तान्तरण कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन, बाँकेका अध्यक्ष, उपाध्यक्ष, प्रमुख सल्लाहकार तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनका तर्फबाट संकलित राहत रकम सम्बन्धित निकायमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।
राहत रकम हस्तान्तरण गर्दै संगठनका प्रमुख सल्लाहकार सूर्यबहादुर के.सी ले प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई आवश्यक सहयोग पुयाउने उद्देश्यले संगठनका सदस्यहरूको स्वेच्छिक सहभागितामा राहत रकम संकलन गरिएको जानकारी दिनुभयो।
नेपाल पूर्व प्रहरी संगठन, बाँकेले आगामी दिनमा समेत मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।




