अर्थ/वाणिज्यसमाचार

सांसद सुष्मा स्वर्णकार बाँके–२ का गाउँ–टोलमा, जनगुनासा टिपोट गर्दै

नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नीति तथा निर्देशनअनुसार देशभरका सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा संकलन गर्न आग्रह गरिएपछि प्रतिनिधिसभा सदस्य सुष्मा स्वर्णकार यतिबेला आफ्नो निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर–२ का विभिन्न पालिका, वडा तथा स्थानीय बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ।
सांसद स्वर्णकारले स्थानीय समुदायसँग भेटघाट गर्दै सार्वजनिक सेवा प्रवाहको अवस्था, विकास निर्माणका समस्या, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि लगायतका विषयमा नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू टिपोट गरिरहनुभएको छ। ती समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
उहाँले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै, जनप्रतिनिधिको मुख्य दायित्व नागरिकका कुरा सुन्ने, बुझ्ने र समाधानका लागि पहल गर्नु भएको धारणा व्यक्त गर्नुभयो।
यस अभियानमा सांसद स्वर्णकारसँगै रास्वपा बाँकेका जिल्ला सभापति विवेक कुमार श्रेष्ठ, जिल्ला सचिव शिभम गुप्ता, बाँके क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति बालकृष्ण लामिछाने, नेपालगञ्ज नगर सभापति नवीन खण्डका, नगर सचिव घनश्याम भट्ट, नगर खेलकुद विभाग प्रमुख किरण श्रेष्ठ, उद्योग तथा व्यापार विभाग प्रमुख सौरभ कर्मचारी, विभिन्न वडा समितिका संयोजक तथा रास्वपाका नेता–कार्यकर्ताको समेत सक्रिय सहभागिता रहेको थियो।
यसैबीच, रास्वपा बाँकेका जिल्ला सभापति विवेक कुमार श्रेष्ठ ले बाँकेका निर्वाचन क्षेत्र नम्बर–१, २ र ३ क्षेत्रमा अर्बौं रुपैयाँ रहेको र उक्त रकम सडक, विद्युत्, खानेपानीलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, योजनाको प्रभावकारी कार्यान्वयन र पारदर्शितामा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो।
रास्वपाले सञ्चालन गरेको यो नागरिक संवाद अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा लिँदै आफ्ना समस्या प्रत्यक्ष रूपमा सांसदसमक्ष राख्ने अवसर पाएको बताएका छन्। अभियान आगामी दिनहरूमा पनि बाँके क्षेत्र नम्बर–२ का अन्य बस्ती तथा समुदायमा निरन्तर सञ्चालन हुने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button