अन्यसमाचार

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँकेद्वारा पर्यवेक्षक अभिमुखीकरण सम्पन्न


बाँके — राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँके शाखाले जिल्लामा खटिने पर्यवेक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।


उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले निर्वाचनलाई विश्वसनीय र पारदर्शी बनाउन पर्यवेक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। निर्वाचन सफल बनाउन सामूहिक जिम्मेवारी र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।


कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै नियोक लुम्बिनी प्रदेश समिति अध्यक्ष बसन्त गौतम ले पर्यवेक्षण आचारसंहिताको पूर्ण पालना गर्दै निष्पक्ष रूपमा अनुगमन गर्न आग्रह गरे। उनले नियोकले प्रदेश र जिल्ला तहसँगै जेनजी युवाहरूलाई समेत पर्यवेक्षकका रूपमा परिचालन गरेको जानकारी दिए।


अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षणको उद्देश्य, निर्वाचनका क्रममा ध्यान दिनुपर्ने विषय, पर्यवेक्षकको भूमिका, मौन अवधि, मतदान दिनको प्रक्रिया, आचारसंहिता, रिपोर्टिङ प्रक्रिया तथा कल सेन्टर सम्बन्धी विषयमा नियोक बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्ट ले सहजीकरण गरेका थिए। अभिमुखीकरण पश्चात् पर्यवेक्षकहरूलाई सपथ ग्रहण गराइएको थियो।


प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बाँके जिल्लामा नियोक बाँकेमार्फत ११ जना तथा जेनजीमार्फत १० जना गरी कुल २१ जना पर्यवेक्षक खटिएको जनाइएको छ।
कार्यक्रमको समापन नियोक बाँके शाखाका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता लोक बहादुर शाह ले धन्यवाद ज्ञापनसहित गरेका थिए। कार्यक्रम नियोक बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button