राजनीतिसमाचार

नेपालगन्ज राझा भैंयापुरमा माघी कार्यक्रम हुने : मगर

मगर समुदायको महान पर्व माघि (मकर संक्रान्ति) को अवसरमा नेपाल मगर संघ नेपालगञ्ज उप–महानगरपालिका नगर कमिटीले विशेष सांस्कृतिक तथा परम्परागत कार्यक्रम आयोजना गर्ने भएको छ। हरेक वर्ष माघ १ गते मनाइने माघि कार्यक्रमले आपसी मेलमिलाप, संस्कृति संरक्षण र सामाजिक एकताको प्रतीक पर्वका रूपमा मनाइन्छ।

माघि पर्वका अवसरमा आयोजना गरिने कार्यक्रममा छेलो हान्ने, धनु–वाण एकल सांस्कृतिक नृत्य प्रतियोगिता तथा मगर समुदायका मौलिक खानाका विभिन्न परिकारहरू राखिनेछन्। यस कार्यक्रममार्फत मगर समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कार, कला र परम्परालाई संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्य लिइएको अध्यक्ष दिनेश थापा मगरले बताउनु भयो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगी मगर समुदायको हुनुपर्ने, मगर संस्कृति झल्काउने गीतमा नृत्य प्रस्तुत गर्नुपर्ने र नृत्यको समय चार मिनेट वा सोभन्दा कम हुनुपर्ने नियम तोकिएको छ। सहभागीका लागि दर्ता शुल्क रु ५०० निर्धारण गरिएको छ भने प्रतियोगितामा बढीमा २५ जना प्रतियोगी मात्र समावेश गराइनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने निर्णायकको निर्णय अन्तिम हुने जनाइएको छ।

कार्यक्रम यही माघ १ गते नेपालगञ्ज उपमहानगरपालिका–राझा ब्यारेक नजिक बिहान ११ बजेदेखि सुरु हुनेछ। माघि पर्वको अवसरमा आयोजना गरिने यस कार्यक्रममा सहभागी भई मगर समुदायको संस्कृति, पहिचान र एकतालाई मजबुत बनाउन नेपाल मगर संघ नेपालगञ्ज उप–महानगरपालिका नगर कमिटीले सम्पूर्ण मगर समुदाय तथा आम नागरिकलाई सहभागिताका लागि आग्रह गरेको छ।

नेपाल मगर संघ नगर कमिटी नेपालगञ्ज उप–महानगरपालिका बाँकेका सचिव मानबहादुर थापा मगरद्वारा जारी सूचनामा कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग र सहभागिता अपेक्षा गरिएको उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button