
थाईल्यान्ड र क्याम्बोडियाको विवादित सीमामा दुई देशका सैनिकहरूबीच भिडन्त हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थाई अधिकारीहरूले बताएका छन्।
दुई देशबीच १०० वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ।
हताहत भएका अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको र थाईल्यान्डका तीन प्रान्तका बासिन्दा भएको थाई सेनाले बताएको छ। थाई सेनाका अनुसार उक्त घटनामा अन्य केही मानिसहरू घाइते भएका छन्। क्याम्बोडियाले आफ्नो तर्फ कोही हताहत भए वा नभएको बताइसकेको छैन।
दुई पक्षबीच बिहीवार बिहान गोली हानाहान भएको बताइएको छ। दुवैले अर्को पक्षले पहिला गोली चलाएको आरोप लगाएका छन्। थाईल्यान्डले क्याम्बोडियाले रकेट प्रहार गरेको आरोप लगाउँदै त्यसको जबाफ दिन क्याम्बोडियाली सैन्य स्थलहरूमा हवाई आक्रमण गरिएको जनाएको छ।
थाईल्यान्डले क्याम्बोडियासँगको सीमा बन्द गरेको छ भने क्याम्बोडियाले थाई पक्षलाई “अत्यधिक बल” प्रयोग गरेको आरोप लगाउँदै थाईल्यान्डसँगको कूटनीतिक सम्बन्ध कटौती गरेको छ।
दुवै देशले सीमावर्ती क्षेत्रबाट आफ्ना नागरिकलाई अन्यत्र जान आग्रह गरेका छन्। थाईल्यान्डले ४०,००० सर्वसाधारण मानिसलाई सुरक्षित स्थानतर्फ सारिसकेको छ।
“[यो भिडन्त] निकै गम्भीर खालको छ। हामी ठाउँ खाली गर्ने कामको बीचतिर छौँ,” क्याम्बोडियाको सीमासँग जोडिएको थाई प्रान्त बुरिरामका बासिन्दा सुथियान पेचानले बीबीसीसँग भने।
थाई अधिकारीहरूका अनुसार एक आठवर्षे बालकसहित ११ सर्वसाधारण नागरिक र एक सैनिक गरी १२ जनाको सुरिन, उबोन राचथानी र सिसाकेत प्रान्तमा मृत्यु भएको हो।
अहिले कसरी चर्कियो तनाव?
थाईल्यान्ड र क्याम्बोडियाले बिहीवारको घटनाबारे नितान्त भिन्न कुरा बताएका छन्।
थाईल्यान्डको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीवार बिहान ७ः३० बजेपछि क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएको दाबी गरेको छ।
त्यसलगत्तै बमजडित रकेटहरू बोकेका क्याम्बोडियाली सैनिकहरू सीमानजिकै भेला भएको उसको भनाइ छ। त्यो देखेर थाई सैनिकहरूले वार्ता गर्ने प्रयास गरेको भए पनि उनीहरू विफल भएको परिषद्का प्रवक्ताले बताए। उनका अनुसार क्याम्बोडियाली सैनिकहरूले बिहान ८ः२० बजेतिर गोली चलाए र प्रतिक्रियामा थाई सेना जाइ लाग्यो।
क्याम्बोडियाले सीमावर्ती क्षेत्रमा बीएम-२१ रकेट लन्चर र गोलाबारुदसहित ठूला अस्त्रहरू तैनाथ गरेको अनि सर्वसाधारण मानिसहरूका घर तथा एउटा अस्पताल र एउटा पेट्रोल पम्पसहित विभिन्न सार्वजनिक भवनहरूमा क्षति पुर्याएको आरोप थाईल्यान्डको छ।
क्याम्बोडियाका अनुसार बिहान ६ः३० बजेतिर थाई पक्षले तनाव बढाउने काम गरेको थियो। पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरू सीमानजिकै एउटा खमेर-हिन्दू मन्दिरमा प्रवेश गरेका र सो क्षेत्रमा काँडेतार बारेको उसको दाबी छ।
त्यसपछि थाई सैनिकहरूले ७ बजेपछि एउटा ड्रोन उडाएको र ८ः३० बजेतिर हावामा गोली हानेको दाबी क्याम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले गरे।
सोचेतालाई उद्धृत गर्दै ‘नोम पेन पोस्ट’ पत्रिकाले ८ः४६ बजे थाई सैनिकहरूले सुरुमै गोली हानेकाले क्याम्बोडियाली सैनिकहरूसँग आत्मरक्षा गर्नुबाहेक अन्य विकल्प बाँकी नभएको विवरण प्रकाशित गरेको छ।
थाईल्यान्डले ठूलो सङ्ख्यामा सैनिक परिचालन गरेको, ठूला अस्त्रहरू प्रयोग गरेको र क्याम्बोडियाली भूभागमा हवाई हमला गरेको आरोप सोचेताले लगाए।
दुई देशबीच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ। फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो।
सन् २००८ मा क्याम्बोडियाले विवादित भूभागमा अवस्थित तथा एघारौँ शताब्दीमा निर्मित एउटा मन्दिर यूनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता गर्न खोजेपछि थाईल्यान्डले त्यसको विरोध गर्यो। त्यस बेलादेखि दुई देशबीच सीमा विवाद चर्किएको हो।
त्यसयता दुई देशका सैनिकहरूबीच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ। दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्।
गत मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भयो। उक्त घटनापछि दुई पक्षबीच तनाव चुलियो र एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध निम्न बिन्दुमा पुग्यो।
विगत दुई महिनामा दुवै देशले सीमामा कडाइ गरेका छन्। क्याम्बोडियाले थाईल्यान्डबाट फलफूल र सागसब्जी आयात गर्न प्रतिबन्ध लगाएको छ भने बिजुली र इन्टरनेट सेवा पनि लिन छोडेको छ।
केही सातादेखि दुवै देशले सीमामा आफ्नो सैन्य उपस्थिति बढाएका छन्।
यो द्वन्द्वले कस्तो रूप लेला?
थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले क्याम्बोडियासँगको यो विवादलाई “संवेदनशील” मान्दै यसलाई सतर्कतापूर्वक र अन्तर्राष्ट्रिय कानुन पालना गरेर समाधान गर्नुपर्ने बताएका छन्।
क्याम्बोडियाका प्रधानमन्त्री हुन मनेटले आफ्नो देशले यो विवाद शान्तिपूर्वक समाधान गर्न चाहेको तर “सशस्त्र आक्रमण हुँदा सशस्त्र प्रतिकार गर्नुको विकल्प नभएको” बताएका छन्।
पहिलापहिला गोली हानाहान हुने गरेको भए पनि तनाव चाँडै मत्थर हुँदै आएको थियो।
अहिले भएको लडाइँ चर्किएर दुई देशका सेनाबीच युद्ध नै हुने सम्भावना देखिँदैन। तर अहिलेको बिन्दुमा हेर्दा लडाइँ हुन नदिने अवस्था सिर्जना गर्न सक्ने नेतृत्व दुवै देशमा छैन।
हुन मनेट पूर्वप्रधानमन्त्री हुन सेनका छोरा हुन्। उनीसँग वास्तविक कार्यकारी अधिकार नभए जस्तो देखिन्छ। बरु उनका पिता आफ्नो राष्ट्रवादी छविलाई अझ बलियो बनाउन अहिलेको द्वन्द्व चर्काउने पक्षमा भएको ठानिन्छ।
थाईल्यान्डमा अहिले निकै कमजोर गठबन्धन सरकार छ। उक्त सरकारलाई पूर्वप्रधानमन्त्री थाक्सिन चिनवतले समर्थन गरेका छन्।
थाक्सिन चिनवतको हुन सेन र उनको परिवारसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेको ठानिन्थ्यो। तर हुन सेनले आफू र थाईल्यान्डकी तात्कालिक प्रधानमन्त्री पेतोङ्तान चिनवतबीच भएको एउटा फोनवार्ताको अडिओ रेकर्डिङ सार्वजनिक गरिदिएको भन्दै थाक्सिन चिनवत उनीसँग चिढिएका छन्।
पेतोङ्तान थाक्सिन चिनवतकी छोरी हुन्। फोनवार्ता सार्वजनिक भएपछि पेतोङ्तान प्रधानमन्त्रीबाट निलम्बित भएकी थिइन्।
bbc




