
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विवेक कुमार श्रेष्ठलाई समर्थन जनाउँदै ज्ञानेन्द्र मल्ल आज नेपालगञ्जका विभिन्न स्थानमा पुगेर क्रिकेट खेल्दै मत माग्नुभएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार समेत रहनुभएका मल्लले युवासँग प्रत्यक्ष संवाद गर्दै परिवर्तनको पक्षमा मतदान गर्न अपिल गर्नुभयो।
नेपालगञ्जका विभिन्न चोक–चौराहामा युवाहरूसँग मैत्रीपूर्ण क्रिकेट खेल्दै उहाँले खेलकुदले जस्तै राजनीति पनि अनुशासन, इमान्दारिता र टिमवर्कले सफल हुने बताउनुभयो। “अब पुरानै शैली र पुरानै अनुहारले देश बन्दैन,” उहाँले भन्नुभयो, “यसपटक सबै पुरानालाई फालेर नयाँ सोच र नयाँ पार्टीलाई अवसर दिनुपर्छ। घण्टी चुनाव चिन्हमा मतदान गरेर साँचो परिवर्तनको सुरुवात गरौं।”


मल्लले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, बुवा–आमालाई एकपटक गम्भीर भएर सोच्न आग्रह गर्दै जहाँ भए पनि आफ्नो र आफ्नो परिवारको मत घण्टी चिन्हमा हालेर रास्वपालाई अत्याधिक मतले विजयी गराउन अपिल गर्नुभयो। उहाँले परिवर्तनका लागि युवाशक्ति निर्णायक हुने उल्लेख गर्दै अबको राजनीति स्वच्छ, पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो।
उम्मेदवार विवेक कुमार श्रेष्ठको पक्षमा बढ्दो जनसमर्थनले बाँके क्षेत्र नं. २ मा नयाँ उत्साह थपिएको स्थानीय कार्यकर्ताहरूले बताएका छन्। घरदैलो अभियानका क्रममा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका एजेण्डालाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।




