
एक सीसीटिभी टेन्डर प्रक्रियामा भरतपुर महानगरपालिकाले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिकाले २०८१ असार २८ मा गरेको टेन्डर आह्वान एक निश्चित कम्पनीको सीसीटिभी स्पेसिफिकेसनसँग मिलेको दाबी गर्दै केही व्यवसायीहरूले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
आजको मितिसम्म आउँदा समेत कुनै निर्णय नगरी ढिलाई गरि मुल्यांकन समितिमा रहेका सदस्यहरु समेत हेरफेर गरि सेटिंगमा रहेका कर्मचारी राखी कार्यपालिकामा लगेर एकल कम्पनीलाई मात्र प्राविधिक मुल्यांकनमा छनोट गर्न खोजिएको छ र यो सबै कुरापनि अख्तियारमा रहेको उजुरीमा उल्लेख गरिएको जानकारी गराएका छन |
उजुरीमा चिनियाँ कम्पनी दाहुवाको ‘स्पेसिफिकेसन’ सँग मात्र मिल्नेगरी महानगरले टेन्डर आह्वान गरेको आरोप लगाइएको छ । अन्य प्रतिस्पर्धी कम्पनीहरूलाई बाहिर राख्ने र दाहुवालाई अनुचित फाइदा पुर्याउने नियतले टेन्डरको सम्पूर्ण प्रक्रिया रचिएको उजुरीकर्ताको दाबी छ ।
महानगरले यो परियोजनाका लागि दश करोड असि लाख रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ । आर्थिक वर्षको अन्त्यमा महानगरदेखि प्रहरीसम्मको ‘एकपक्षीय सेटिङ’बाट दाहुवालाई ठेक्का दिन प्रपञ्च गरिएको व्यवसायीहरूले आरोप लगाएका छन् । महानगरले बोलाएको प्रि-बिड बैठकमै अधिकांश भेन्डरहरूले सबै ब्राण्डका लागि मिल्नेगरी स्पेसिफिकेसन संशोधन गर्न माग राखेपनि प्रहरीका केही उच्च प्राविधिकहरूको दबाबमा भरतपुर महानगरले दाहुवालाई ठेक्का दिएको एक व्यवसायीले बताए ।
‘‘हामीले प्रि-बिडमा उहाँहरू (महानगर)लाई सबै ब्रान्डलाई हुनेगरी युनिभर्सल स्पेसिफिकेसन राख्नुस्, नत्र अन्य कम्पनी आउने बाटो छैन भनेका थियौं । त्यही अनुसार महानगरले प्रहरीलाई स्पेसिफिकेसन परिवर्तनका लागि पत्राचार गरेकाे सुनिए पनि संसोधन भएर आएको कागजातमा पनि दाहुवाको ‘स्पेसिफिकेसन’ सँग मात्र मिल्नेगरी आएको छ । यहीकारण दाहुवालाई नै ठेक्का दिनेगरी पहिल्यै डिजाइन भएकाले अधिकांश भेन्डरहरूले यो प्रक्रिया नै बहिष्कार गरे,’’ उनले भने ।
टेन्डर नम्बर 94-BMC/80/81/G/NCB/128 मा उल्लेखित ANPR क्यामेरा र VMS software स्पेसिफिकेसनमा अन्य ब्रान्डहरूको उपलब्धता र आवश्यकतालाई नजरअन्दाज गरी राखिएको र दाहुवालाई ब्रान्ड लाइ मात्र मिल्ने गरि बनाइएको भनि अख्तियारमा पेश भएको उजुरीमा उल्लेख छ ।
भरतपुर महानगरपालिका का एक कर्मचारी अनुसार, ‘‘हामीसँग प्राविधिक विशेषज्ञ नभएकाले सुरक्षा निकायको राय लिएका हौं । उहाँहरूलाई यसबारे ज्ञान र अनुभव छ । त्यहीअनुसार टेन्डर आह्वान गरिएको हो,’’ उनले भने ।
‘‘यस क्षेत्रमा लामो समयदेखि क्रियाशील भेन्डरहरूले सबैका लागि प्रतिस्पर्धी हुनेगरी टेन्डर आह्वान गर्न सुझाव दिएका हौं । तर पूर्वनिर्धारित स्पेसिफिकेसन फाइनल हुनुले भरतपुर महानगरपालिका र प्रहरीको मिलेमतो भएको देखिन्छ । मिलेमतो नभएको भए स्पेसिफिकेसन परिवर्तन हुन्थ्यो,’’ एक व्यवसायीले भने । उनले पहिलै मिलेमतो भएर निर्णय भइसकेको कम्पनीलाई ठेक्का दिनकै लागि बोलपत्रको नाटक गरिएको बताए ।




