
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका आकांक्षी सौरव शाहले पार्टीको टिकट पाएर उम्मेदवारी दिने र टिकट नपाए स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी हुने सोच बनाएका छन्। उनले आफू कुनै दलको टिकटमा मात्र निर्भर नरहेको बताउँदै जनताको विश्वास र समर्थनलाई प्राथमिकतामा राखेर अघि बढ्ने संकेत गरेका छन्।
शाहले आफू निर्वाचित भएको दुई वर्षभित्र नेपालगन्जवासीले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी कामको परिणाम दिन नसके नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार निर्वाचन जितेर पदमा पुग्नु मात्र आफ्नो उद्देश्य नभई जनताले महसुस गर्ने गरी काम गरेर देखाउनु मुख्य जिम्मेवारी हुनेछ। दुई वर्षको अवधिमा आफ्नो कार्यसम्पादनबाट नागरिकले परिवर्तनको अनुभूति गर्न नसके आफू पदमा बसिरहनुको औचित्य नहुने उनको भनाइ छ।
त्यसैगरी, राजीनामा दिनुपर्ने अवस्था आएपछि हुने पुनःनिर्वाचनको खर्चसमेत राज्यको ढुकुटीबाट नभई आफ्नै व्यक्तिगत रकमबाट व्यहोर्ने प्रतिबद्धता शाहले व्यक्त गरेका छन्।
शाहको यस्तो प्रतिबद्धताले आगामी स्थानीय निर्वाचनमा ‘पदभन्दा परिणाम र जिम्मेवारी’ लाई मुख्य मुद्दा बनाउन खोजेको देखिन्छ। पार्टीबाट टिकट पाए पार्टीकै उम्मेदवारका रूपमा र टिकट नपाए स्वतन्त्र रूपमा जनतामाझ जाने उनको तयारी रहेको छ।






