
नेपालगन्ज, बाँके । सडकमा ठूलो आवाज निकाल्दै चलाइने मोटरसाइकलमाथि बाँके ट्राफिक प्रहरीले कहिलेकाही कारबाही गरेको जस्तो देखिन्छ तर पुर्ण रुपमा भएको पाइदैन। ध्वनि प्रदूषण तथा होहल्ला नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ठूलो आवाज आउने गरी मोडिफाइ गरिएका मोटरसाइकलमाथि निगरानी बढाएर कारबाही गरेतापनि पुर्ण रुपमा सफल भएको देखिएको छैन ।
बाँके ट्राफिक प्रहरी प्रमुख कनक बहादुर शाहीका अनुसार असार मसान्तयता ठूलो आवाज निकाल्ने १३ वटा मोटरसाइकललाई कारबाही गरी राजस्वका लागि यातायात व्यवस्था कार्यालय, बाँकेमा पठाएपनि चेकजाँच कार्यक्रममा मात्र भेटिएका मोटरसाइकललाई कारबाही निरन्तर अगाडि बढेको देखिन्छ ।
शाहीका अनुसार ठूलो आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर परिवर्तन गराउन लगाउनुका साथै प्रचलित सरकारी नियमअनुसार कारबाही गर्ने गरिएको छ। सडकमा अनावश्यक आवाज निकालेर सर्वसाधारणलाई असर गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाइरएको उनले बताए।
उता यातायात व्यवस्था कार्यालय, बाँकेका कार्यवाहक प्रमुख कालिदास बस्यालका अनुसार ट्राफिक प्रहरीको कारबाही तथा सिफारिसका आधारमा २०८३ असारयता १ लाख ८६ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको बताए ।
तर, ट्राफिक प्रहरीले कारबाही गरिरहेको दाबी गरे पनि नेपालगन्जसहित बाँकेका विभिन्न सडकमा अझै ठूलो आवाज निकाल्ने मोटरसाइकलको संख्या कम नभएको स्थानीयको गुनासो छ। विशेषगरी साइलेन्सर परिवर्तन गरेर चर्को आवाज निकाल्ने तथा सडकमा पटक–पटक एक्सिलेटर बढाएर हिँड्ने मोटरसाइकलका कारण सर्वसाधारण तथा घरपरिवारमा समेत समस्या हुने गरेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार रातिको समयमा ठूलो आवाज निकाल्दै मोटरसाइकल गुड्दा बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई समेत असहज हुने गरेको छ। बजार क्षेत्र, मुख्य सडक तथा आवासीय क्षेत्रमा यस्ता मोटरसाइकलको आवाजले ध्वनि प्रदूषण बढाउँदै गएको उनीहरूको भनाइ छ।




