
नेपालगन्ज धम्बोजी चोकस्थित माछापुच्छ्रे फ्रेस हाउसमा उपभोक्तामाथि ठगी गरिएको आरोपपछि आज आइतबार बिहानै विवाद चर्किएको छ।
पीडित ग्राहकका अनुसार उनी गएराति शनिबार अबेर “खसीको मासु” भनेर पसलबाट मासु खरिद गरी घर लगेका थिए। तर घर पुगेपछि खोल्दा खसीको मासु नभई कुखुराको आँखा, खुट्टा, टाउकोसहित सडेको तथा फाल्नका लागि छुट्याइएको जस्तो देखिने मासु रहेको भेटिएको बताइएको छ।
ग्राहकले तत्काल पसल पुगेर गुनासो गर्न खोजे पनि राति पसल बन्द भइसकेको थियो। बिहानै पुनः पसलमा पुगेपछि घटनाबारे विवाद सुरु भएको स्थानीयले बताएका छन्।
पीडित पक्षले “खसीको मूल्य लिएर सडेको कुखुराको भाग बेच्नु सीधा उपभोक्तामाथिको ठगी हो” भन्दै कडा कारबाहीको माग गरेका छन्। उनीहरूले “मात्र हामी होइन, यसरी अन्य उपभोक्ता पनि ठगिएका हुन सक्छन्” भन्दै सम्बन्धित निकायलाई तत्काल अनुगमन गर्न आग्रह गरेका छन्।
स्थानीयवासीले खाद्य गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै बजार अनुगमन केवल कागजमै सीमित भएको आरोप लगाएका छन्। “जनताको स्वास्थ्यसँग खेल्ने व्यवसायलाई संरक्षण होइन, कारबाही हुनुपर्छ,” भन्दै आक्रोश व्यक्त गरिएको छ।
घटनापछि धम्बोजी क्षेत्रका उपभोक्ताहरूमा त्रास फैलिएको छ भने सम्बन्धित निकायले घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै यतिबेला माछापुच्छ्रे फ्रेस हाउसका संचालक तथा कामदारहरुलाई प्रहरीले सोधपुछका लागि जिप्रका लगिएको छ।



