Uncategorized

बागेश्वरी मन्दिरमा रास्वपा उम्मेदवारहरूको सामुहिक दर्शन : सफल अभियानको कामना

नेपालगञ्जस्थित प्रसिद्ध धार्मिक आस्था केन्द्र शक्तिपिठ बागेश्वरी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले दर्शन तथा पूजा–अर्चना गरेका छन्।
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विवेक कुमार श्रेष्ठलाई विजयी गराउन सञ्चालन भइरहेको चुनावी अभियानमा साथ दिन पुगेका समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा र भूमिका श्रेष्ठले मन्दिरमा पुगेर देशको समृद्धि, सुशासन र सफल चुनावी यात्राको कामना गरेका हुन्।

दर्शनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरूले राजनीतिक परिवर्तन केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताएका थिए। “हामी स्वच्छ राजनीति, पारदर्शिता र जनमुखी विकासको पक्षमा उभिएका छौं। जनताको भरोसालाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणमा अग्रसर हुने हाम्रो प्रतिबद्धता छ,” उनीहरूको भनाइ थियो।

मन्दिर परिसरमा उपस्थित स्थानीय श्रद्धालु तथा समर्थकहरूसँग उनीहरूले आत्मीय भेटघाटसमेत गरेका थिए। जनताको उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया पाउँदै चुनावी माहोल थप ऊर्जावान बनेको नगर सभापति नवीन खड्काले बताएका छन्।

रास्वपाका उम्मेदवारहरूले आगामी दिनमा घरदैलो कार्यक्रमलाई थप तीव्र बनाउँदै जनताको मुद्दा, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “परिवर्तनको चाहना बोकेका जनताको आवाज नै हाम्रो शक्ति हो,” धार्मिक आस्था र राजनीतिक प्रतिबद्धताको समन्वय गर्दै सुरु गरिएको यो अभियानले बाँके क्षेत्र नं. २ मा रास्वपाको सक्रियता र जनसमर्थन झन् सशक्त हुँदै गएको बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विवेक कुमार श्रेष्ठले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button