
बाँके जिल्लाको नेपालगन्जमा बढ्दो चिसोका कारण प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेनाको बज्रदल गणले सहयोेगात्मक कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार बिहानदेखि बज्रदल गणका सैनिकहरूले नेपालगन्जका विभिन्न चोक–चोक तथा बस्तीहरूमा दाउरा वितरण गरेका हुन्। विशेषगरी गरिब, विपन्न, सडक छेउमा बसोबास गर्ने तथा खुला स्थानमा आगो बालेर चिसोबाट जोगिने सर्वसाधारणलाई लक्षित गरी दाउरा उपलब्ध गराइएको सेनाले जनाएको छ।
चिसोको तीव्रतासँगै दैनिक जनजीवन प्रभावित भइरहेका बेला सेनाको यस कदमले स्थानीय बासिन्दालाई राहत मिलेको छ। दाउरा वितरणका क्रममा सैनिकहरूले आफैं आगो बालिदिने तथा सुरक्षित रूपमा ताप्नेबारे जानकारीसमेत दिएका थिए।
स्थानीय बासिन्दाहरूले कठ्याङ्ग्रिने जाडोमा नेपाली सेनाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय सेवामूलक गतिविधि निरन्तर रहनुपर्ने बताएका छन्।
नेपाली सेनाले प्राकृतिक विपद्, महामारी तथा कठिन परिस्थितिमा नागरिकको सेवामा सदैव अग्रपंक्तिमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।




