अन्यअर्थ/वाणिज्यविदेशसमाचार

वैदेशिक रोजगारीमा जाने नेपालीमा मानसिक स्वास्थ्य समस्या ‘बढ्दो’

भिजिट भिसामा दुबई पुगेका पाँचथरका एक युवक मानसिक स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि संयुक्त अरब एमिरेट्समा रहेका नेपाली समुदायको सहयोगमा नेपाल फर्किए।

विगतमा सशस्त्र द्वन्द्वमा माओवादी लडाकु रहेका उनी अयोग्य ठहरिएपछि नेपालमा राम्रो रोजगारीको अवस्था नभएको भन्दै केही महिनाअगाडि मात्रै युरोप लगिदिने एक एजेन्टको प्रलोभनमा दुबई पुगेका थिए।

सुरुमा क्रोएसिया पुर्‍याइदिने बताएका एजेन्टले दुबईमा पुगेपछि पोल्यान्ड लैजाने भन्दै उनीसँग बाँकी रहेको सबै रकम लिइदिए।

केही समयपछि एजेन्ट सम्पर्कविहीन बनेपछि ती युवकको बस्ने बास पनि गुम्यो र उनी पार्कतिर भौँतारिन थाले।

उनको अवस्थाबारे ‘एक कान दुई कान हुँदै’ थाहा पाएपछि आफूहरूले खोजी गर्दा शारजहाँ पार्कमा भौतारिरहेको अवस्थामा भेटेको आबुधावीमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेले बीबीसीलाई बताए।

आफूहरूले भेट्दा बेलाबेला होस गुमाउने गरेका ती युवकबारे सामाजिक सञ्जालमार्फत् सोधिखोजि गर्दा स्थानीय पालिकाका अध्यक्ष सम्पर्कमा आए।

उनैमार्फत् जिल्लाबाट राहदानी विवरण मगाएर दूतावासले एकतर्फी यात्रा अनुमतिपत्र बनाइदिएको पत्रकार पाण्डेले बताए।

श्रम स्वीकृति भएकैमा पनि समस्या बढ्दो

कोही बाटो काट्ने क्रममा दुर्घटनामा परेपछि मानसिक सन्तुलन गुमाउने पनि छन्। आबुधावीमै सेक्युरिटी गार्डका रूपमा काम गर्न गएकी एक महिला चार महिनाअगाडि नेपाली दूतावासबाट नजिकै पर्ने सडकमा दुर्घटनामा परेपछि त्यसयता सरकारी अस्पतालमा उपचाररत छिन्।

उपचारपछि उनको होस खुले पनि टाउकोको शल्यक्रिया गरिएकी उनको मानसिक सन्तुलन गुमेको छ। अहिले आबुधावीमै रहेका उनका भाइ जागिर छोडेर दिदीको रेखदेखमा लागेका छन्।

भिजिट भिसामा पुग्ने यस्ता थुप्रै नेपालीहरू पछिल्लो समय मानसिक तनावमा हुने, मानसिक स्वास्थ्य समस्या देखिने र कतिपयले आत्महत्या नै गर्ने गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

करिब ७ लाखभन्दा बढी नेपालीहरू रहेको संयुक्त अरब एमिरेट्स नेपालीहरूका लागि वैदेशिक रोजगारीमा जान एउटा प्रमुख गन्तब्य देश हो।

श्रम स्वीकृति बिना भिजिट भिसामै गएकाहरूले पनि काम गर्न पाउने उक्त देशमा जाने नेपालीको सङ्ख्या बढिरहँदा पछिल्लो समय मानसिक स्वास्थ्य समस्याहरू पनि बढिरहेको तथ्याङ्क छ।

तर मानसिक स्वास्थ्यबारे मानिसहरू खुल्न नचाहने कारण कति सङ्ख्यामा यस्ता मानिसहरू छन् भन्ने यकिन गर्न नसकिने अधिकारीहरू बताउँछन्।

आत्महत्या दर पनि बढ्दो

आबुधावीस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार सन् २०२४ मा २७४ जना नेपालीहरूको मृत्यु भएको थियो जसमा स्वाभाविक मृत्यु हुनेको सङ्ख्या १६० रहेको छ भने ४३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै दुर्घटनामा परेर ३५ जनाको मृत्यु भएको छ।

सन् २०२५ को ज्यानुअरी महिना यतामात्रै १६९ जनाको मृत्यु भएकोमा २५ जनाले आत्महत्या गरेको दूतावासकी नियोग उपप्रमुख रञ्जिता दाहालले बताइन्। अहिले मानसिक स्वास्थ्य समस्या र आत्महत्या दर बढिरहेको देखिएको उनी बताउँछिन्।

त्यसरी बढ्नुमा त्यहाँ पुग्ने नेपालीको अपेक्षा अनुसार काम र सेवा सुविधा नरहनु र नेपालबाटै ऋणमा आएका कारण आर्थिक बोझ पनि रहनु जस्ता कारणहरू रहेको उनले बताइन्।

उनले भनिन्, “केही कम्पनीको दूतावासमा अटेस्ट गरिने कन्ट्र्याक्टमा भएको माग र नेपालका एजेन्सीहरूले भन्ने जागिरको विवरण फरक हुने गरेको छ। हाम्रा मानिसहरूले नहेरी हस्ताक्षर गर्नुहुन्छ। त्यसलै भने अनुसार काम र तलब यहाँ आएपछि हुँदैन।”

यसरी कतिपय मानिसहरूले जागिरको वास्तविक सम्झौताभन्दा फरक सम्झौता बुझेर नेपालबाट आउने र काम गर्ने कम्पनीमा गइसकेपछि जागिरको प्रकृति र पाउने तलब धेरै नै फरक हुने कारणले नेपालीहरूले जागिर छोड्ने गरेको पनि उनले बताइन्।

त्यसरी जागिर छोडेपछि अर्को जागिर नपाएको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरू मानसिक तनावमा पर्ने गरेको उनले बताइन्।

“नेपालबाट धेरै ऋणमा आउनुभएको हुन्छ अपेक्षा अनुसार नभएपछि तनावमा जानुहुन्छ। कम्पनी छोडेर हिँड्ने गर्नुहुन्छ। प्राय कम्पनीले नै बस्ने व्यवस्था गरिदिने हुनाले अर्को जागिर नपाउँदासम्म कोठा भाडा लिएर बस्न पनि महँगो पर्छ।”

त्यसरी बीचमै जागिर छोडिदिँदा भोलि दाबी गर्न पनि समस्या हुने गरेको उनले बताइन्।

त्यसबाहेक बिना श्रम सम्झौता कागज बिना नै केवल भिजिट भिसामा गएर काम गर्ने मानिसहरूको हकमा दूतावासले आर्थिक लगायत कारणले उद्धार गर्न नसक्ने उनले बताइन्।

कतिपय अवस्थामा नेपालीहरू पहिला नै केही मानसिक स्वास्थ्य समस्या भएर गन्तव्य देशमा पुगेका र त्यहाँ नेपालमा जस्तो चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि नपाउने गर्दा पनि समस्या हुने गरेको ‍पत्रकार पाण्डे बताउँछन्।

“नेपालबाटै बोकेर ल्याएको पीडाले उनीहरूलाई टोकिरहँदो रहेछ। त्यसरी प्रताडित हुने पछिल्लो समय एकदमै बढी छन्,” उनले भने।

पूर्वी नेपालकी एक २६ बर्सिया महिलामा एङ्जाइटी डिसअर्डर भएको र औषधिले सुधार गरिरहेका कारण निरन्तर लिनुपर्ने विवरणसहितको पत्र काठमाण्डूस्थित एक अस्पतालका कन्सल्टेन्ट साइकियाट्रिस्टले लेखिदिए। तर ती महिलाले गन्तव्य देशमा त्यस्तो पत्रका आधारमा उक्त औषधि किन्न पाइनन् र उनको समस्या बल्झियो।

डिप्रेसन र एङ्जाइटी बढ्दो

संयुक्त अरब एमिरेट्समात्रै नभई वैदेशिक रोजगारीका लागि नेपालीहरू जाने अधिकांश देशहरूमा मानिसहरूमा मानसिक स्वास्थ्य समस्या देखिने घटनाहरू बढिरहेको देखिएको एकजना श्रम विज्ञले बताएकी छन्।

कोभिडपछि श्रम बजार खुम्चिने, शोषण दर धेरै हुनेजस्ता कारणले घटनाहरू बढेको देखिएको श्रम विज्ञ मीना पौडेलले बताइन्।

“म असफल भएँ। नेपालमा पनि केही गर्न सकिनँ, यहाँ पनि केही गर्न सकिनँ। मेरो सपना चकनाचुर भयो भनेर अत्यधिक मानिसमा एङ्जाइटी र डिप्रेसन छ,” मलेसिया, आबुधावी गएका बेला आफूले मानसिक स्वास्थ्य समस्या बढेको देखेको उनले बताइन्।

“आर्थिक दबाव, मानसिक दबाव, गलत साथीहरूको सङ्गतमा लाग्ने, सामाजिक दबाव जस्ता कारणले समस्या बढेको छ। अहिले प्रवासी नेपाली समुदायको सामाजिक सक्रियता र सामाजिक सञ्जालका कारण पनि घटना बढी बाहिर आउने गरेको छ।”

मध्यपूर्व र मलेसियाबाहेक दक्षिण कोरिया, जापान जस्तो देशमा गएका विद्यार्थी र वैदेशिक रोजगारीमा जानेहरूमा पनि मानसिक स्वास्थ्य समस्या बढेका विवरणहरू आएका छन्।

त्यसबारे श्रम विज्ञ पौडेल भन्छिन्, “जापानको समाज एकदमै आइसोलेटेड छ र त्यहाँ कडा अनुशासन हुन्छ। नेपालीलाई भाषामा पनि समस्या हुन्छ। जापानमा विभिन्न किसिमका बन्देजहरू भएका कारण तुरुन्तै फर्किन पनि समस्या हुन्छ।”

संसद्‌मा ध्यानाकर्षण

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको अवस्थाबारे कांग्रेस सांसद रमा कोइरालाले एक महिनाअगाडि संसद्को ध्यानाकर्षण गराएकी थिइन्।

मलेसियाको भ्रमणबाट फर्किएपछि उनले संसद्‌मा विदेशी भूमिमा वैध र अवैध रूपमा रहेका नेपाली कामदारहरू दयनीय स्थितिमा रहेको बताइन्।

“जे सोचेर नेपालबाट गएका छन् त्यो अनुसार नहुने रहेछ। परिवारसँग पनि टाढा हुन्छन् अनि नेपालमा तिर्नुपर्ने पैसाको बोझलगायत कुराले मानसिक समस्यामा हुने गरेका रहेछन्,” बीबीसीसँग कुरा गर्दै उनले भनिन्।

“मैले एउटा डाक्टर र एउटा वकिलको व्यवस्था श्रमिकहरू जाने गन्तव्य मुलुकको दूतावासमा गरिदिनुपर्छ भनेर संसद्‌मा पनि आवाज उठाएकी हुँ।”

सरकारले के गर्दैछ?

नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या रहेको स्वीकार गर्दै त्यसको न्यूनीकरणको लागि कामहरू गर्दै आएको र सक्रियता बढाइएको जनाएको छ।

वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको समन्वयमा टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ। उक्त सेवामार्फत् वैदेशिक रोजगारीमा गएका मानिसलाई परामर्श दिने गरिएको छ।

खासगरी त्यस्तो सेवा लिन आउनेमा मानिसहरू कतार, यूएई मलेसियालगायत देशबाट रहेको अधिकारीहरूले बताएका छन्।

त्यस्तै मानव अङ्ग प्रत्यारोपण केन्द्रले वैदेशिक रोजगारीसँग सम्बन्धित मानिसलाई मनोसामाजिक परामर्श दिने गरेको छ र उनीहरूको उपचारका लागि छुट्टै वार्ड नै स्थापना गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव जीवलाल भुसालले पूर्व प्रस्थान तालिममा पनि मानसिक स्वास्थ्यबारे समेट्ने गरी निर्णय गरिएको र बजेटमा समेत व्यवस्था भएको बताए।

त्यसबाहेक स्वास्थ्य परीक्षणको नक्कली कागजात बनाएर जाँदा पनि थुप्रै नेपालीहरू समस्यामा पर्ने गरेको देखिएपछि त्यसको अनुगमन व्यापक बनाइएको उनले बताए।

“स्वास्थ्य संस्थाहरूमा अनुगमन पनि भइरहेको छ र त्यसको आधारमा मात्रै नवीकरण गर्ने कि हटाउने भन्ने कुरा भइरहेको छ,” महाशाखा प्रमुख भुसालले भने।

मानसिक स्वास्थ्य समस्या अहिले पनि मानिसहरूमा देखिइरहेको र यो अझै बढ्न सक्ने कारण मृत्युको ट्र्यापमा उनीहरू नपरून् भन्ने हिसाबले यस्ता कदमहरू चालिएको उनले बताए।

“डिजिटल एपहरू पनि बनाउने, टेलिमेडिसिन सेवा दिने मनोपरामर्श सेवालाई बढाउने हिसाबले स्थानीय तहको रोजगार सूचना केन्द्रहरूले पनि काम गरिरहेका छन्,” भुसालले भने।

तर सरकारको आधिकारिक बाटोबाट नगएकाहरूमा भने अलपत्र परे वा मानसिक स्वास्थ्य समस्या देखिए केही पनि गर्न नसकिने उनले बताए।

“त्यस्तो केसको हकमा आफ्नै हिसाबले गएकाहरूलाई सहज बनाउन हामीले व्यापक रूपमा सचेतना फैलाउने नै हो। प्रवर्द्धनात्मक काम मात्रै गर्न सकिन्छ। स्थानीय तहको पालिकामार्फत् व्यापक रूपमा सचेतना बढाउने र उहाँहरू(वैदेशिक रोजगारीमा जानेहरू) को बुझाइ बढाउने हो।”

बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button