समाचार

नेपालगन्जमा एघारौँ राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो

नेपालगन्ज,

स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल आदर्श वाक्यका साथ नेपालगन्जमा एघारौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्ष माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका अवसरमा यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका–स्थित बागेश्वरी क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

पतञ्जली योग समिति बाँकेका अध्यक्ष श्री हरपाल सिंहज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा पतञ्जली योग समिति लुम्बिनी प्रदेश प्रभारी श्री दुर्गा प्रसाद चौधरीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै पतञ्जली युवा समिति बाँकेका इन्चार्ज श्री इच्छाराम यादवज्यू, पतञ्जली महिला योग समिति बाँकेकी उपाध्यक्ष श्री गोमा भट्टराईज्यू, पतञ्जली योग समिति बाँकेका वरिष्ठ उपाध्यक्ष श्री पुष्कर आचार्यज्यू, पतञ्जली नगर योग समितिका पदाधिकारीहरू, विभिन्न योग साधना केन्द्रका प्रमुख तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले योगको महत्व, योग र स्वास्थ्यबीचको सम्बन्ध तथा स्वस्थ जीवनशैली निर्माणमा योगको भूमिकाका विविध आयामबारे प्रकाश पार्नुभएको थियो। नेपालगन्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र आयुर्वेद शाखा प्रमुख डा. शिवराज सुवेदीज्यूले आयुर्वेदमा उल्लेखित आहार–विहार, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या तथा नसर्ने रोग व्यवस्थापनमा आयुर्वेद र उपचारात्मक योगको महत्वबारे विस्तृत जानकारी दिनुभयो।

पतञ्जली योग समिति बाँकेका सचिव श्री लक्ष्मण बहादुर कार्कीका अनुसार नेपालगन्जसहित बाँके जिल्लाका सबै आठवटै स्थानीय तहमा सूर्य नमस्कार, योगासन, ध्यान र प्राणायामसहित सप्ताहव्यापी योग दिवस कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको सञ्चालन पतञ्जली योग समिति बाँकेका महासचिव श्री वीरबहादुर हमालज्यूले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button