
नेपालगन्ज, ११ असार ।
निर्जला एकादशीको पावन अवसरमा मारवाडी युवा मञ्च, नेपालगन्जका अध्यक्ष श्री आशिष कुमार चौधरीको संयोजकत्वमा सर्वसाधारण तथा श्रद्धालुहरूका लागि शीतल पेय पदार्थ र खाजा वितरण कार्यक्रम सम्पन्न भएको छ।
बढ्दो गर्मीको मौसमलाई मध्यनजर गर्दै मञ्चका अध्यक्ष चौधरीको विशेष नेतृत्व र संयोजनमा आज (असार ११ गते) दिउँसो ११:०० बजेदेखि न्यूरोडस्थित ‘एस जी ब्याग हाउस’ अगाडि यो सेवामूलक कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा करिब १,५०० जना सर्वसाधारण, यात्रु तथा श्रद्धालुहरूलाई पानी, जुस, बिस्कुट तथा मही वितरण गरिएको थियो।
कार्यक्रममा श्री अवानिश अग्रवालज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने सह-संयोजकका रूपमा श्री सन्नी गोयल र श्री यश अग्रवाल रहनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय मारवाडी युवा सङ्गठनका पदाधिकारी श्री राजीव तलाङ्गा, मञ्चका निवर्तमान अध्यक्ष श्री सन्दिप सिंघल, वरिष्ठ समाजसेवी श्री नरेश अग्रवाल ‘ताउजी’, श्री दीपक अग्रवाल र श्री गुञ्जन सेठिया लगायत मञ्चका पदाधिकारी, सदस्य तथा स्थानीय समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्जला एकादशीको धार्मिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै, अत्यधिक गर्मीको समयमा सडकमा हिँड्ने यात्रु र सर्वसाधारणलाई राहत पुर्याउने र शीतल पेय पदार्थ उपलब्ध गराउने पवित्र उद्देश्यले अध्यक्ष चौधरीको संयोजकत्वमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको मञ्चले जनाएको छ।




