
नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको चौथो बैठकले संगठन सुदृढीकरण तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। जिल्ला अध्यक्ष भुपेन्द्र पुन मगरको अध्यक्षतामा बसेको बैठकले जिल्ला कार्यसमितिमा रिक्त पदहरूमा पदपूर्ति गर्ने, सल्लाहकार समिति गठन गर्ने, नयाँ वर्ष २०८३ का लागि वार्षिक मगर क्यालेन्डर प्रकाशन गर्ने तथा जिल्ला कार्यसमितिको कार्यालयका लागि आवश्यक फर्निचर सहयोग जुटाउने निर्णय सम्बन्धि बैठक बसेको थियोे ।
बैठकले संगठनलाई सुदृढ बनाउन सात सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ। सल्लाहकारहरूमा सञ्जय थापा मगर, केशव आले मगर, माया पुन मगर, पार्वती पुन मगर, गगन सिंह थापा मगर, सुवास थापा मगर लगायत सात जनालाई चयन गरिएको छ।
यसैगरी जिल्ला कार्यसमितिमा रिक्त रहेका पदहरूमा पनि पदपूर्ति गरिएको छ। सह–सचिव पदमा लच्चु पुन मगरलाई चयन गरिएको छ भने सदस्यहरूमा अनिल पुन मगर, ओस्कर थापा मगर, चेत बहादुर घर्ती मगर र माया थापा मगरलाई चयन गरिएको छ।
कार्यक्रममा अध्यक्ष भुपेन्द्र पुन मगरले मनोनीत सल्लाहकार, सह–सचिव तथा सदस्यहरूलाई टीका लगाएर औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्नुभएको थियो। कार्यक्रममा मगर संघका पदाधिकारी, सदस्यहरू, आमन्त्रित पालिका अध्यक्षहरू तथा मगर समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै अध्यक्ष पुनले मगर समुदायको एकता नै संगठनको मुख्य शक्ति भएको उल्लेख गर्दै भाषा, संस्कृति, परम्परा र पहिचान जोगाउन सबै मगरहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नेपाल मगर संघ बाँकेलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल मगर संघ मगर समुदायको भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षण तथा प्रवर्द्धनका लागि क्रियाशील सामाजिक संस्था हो। बाँके जिल्लामा पनि मगर समुदायलाई संगठित गर्दै सामाजिक, सांस्कृतिक तथा समुदायको हितका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तेस्तै नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको चौथो बैठकको कार्यक्रम संचालन भने सचिव राजन राना मगरले गर्नु भएको थियोे ।




