समाचार

ल्हो वर्षको शुरुवात हुने दिन : तमु ल्होछार

पुस पन्ध्र तथा सोमवारे औसी

आज पुस १५ तमुहरुको बिशेष नयाँ वर्षको दिन तमु ल्होछार । यस दिनबाट तमुहरु नयाँ ल्हो (वर्ष)को शुरुवात हुने दिनका रुपमा मनाउने गर्दछन् । साथै यस दिन थासों फाल्ने गरिन्छ । खेगी (पुरोहित) भेटे खेगीबाट अन्यथा घरको बृद्धबाट थासों फाल्ने गरिन्छ । थासों फाल्ने भनेको ग्रहदशा फाल्ने हो । काँचो धागोमा बेसार दलेर पहेँलो बनाइन्छ । यसरी बनाइएको धागोलाई पुरुष भएमा नौ सरो र नौ गाँठो बाँधेर घाँटीमा बाँधिदिइन्छ । महिला भने सात सरो र सात गाँठो बाँधेर घाँटीमा बाँधि दिइन्छ । केटाकेटीको हकमा भने कम्मरमा बाँध्ने गरिन्छ । यसरी बाँधिने डोरोलाई प्हैरु भनिन्छ ।

यस दिन छोरी चेलीहरुलाई खान बोलाउने पनि गरिन्छ । अचेल सानो सानो समुहको समाज बनाइएको हुन्छ । जसमा ल्होछारको समय चेलिबेटीलाई खाना खान बोलाइन्छ । यसरी नाचगान गर्दै सबै जम्मा भएर रमाइलो गर्दै ल्होछार मनाउने परम्परा रहेको छ ।

ल्होछार पुस १५ मा मनाउन थाल्नुको खास कारण चन्द्ररमासमा दिन तल माथि हुने तथा जोकोहीले थाहा पाउन नसकिने हुँदा पुस १५ को दिनलाई नयाँ वर्षका रुपमा ल्होछार मनाउने गरिएको हो । राणा श्री ३ चन्द्रशमशेरले चन्द्र वर्षलाई राजकीय पात्रो बनाउँदा तीन वर्षमा आउने अधिकमासका कारण बिभिन्न समस्याहरु आउन थाले पछि एकरुपताका लागि सरकारी कामकाजमा सहजताका लागि बिक्रम सम्वत चलाउने निर्णय गरेका थिए । बि.सं. १९६१ बाट बैशाख १ गतेलाई नयाँ वर्ष मनाउने र चैतको ३१ गते वर्ष समाप्त हुने भएपछि चन्द्रमासबाट आउने सबै समस्याबाट मुक्ति मिलेको थियो । यसैगरि तमु ल्होछार पनि पौष शुक्ल प्रतिपदाका दिन मनाउने गरिएकोलाई सहजताका लागि पुस १५ बनाइयो ।

पुस १५ केवल नेपालमा रहेका तमुहरुको मात्र बिशेष पर्व होइन यसैदिन खस तथा ब्राम्हणहरुले पनि कालो मासको फुलौरा तथा खुदो राखेर पकाइएको अनदी चामलको लट्टे भात खाने गरिन्छ ।

मगरहरुमा भने यस दिन खुवा खाने गरिन्छ । साथै मगर युवायुवतीहरु यस दिन वनभोज जाने गर्दछन् । यसरी वनभोजमा आफूलाई मनपर्ने केटाकेटी रोजेर विवाह गर्दछन् ।

पश्चिम नेपालमा भने पुसे पन्ध्रका रात सबैभन्दा लामो हुने भनेर रात कटाउन निकै गाह्रो हुने भन्दै गाउँलेहरु मिलेर रातभर मुढा बालेर आगो ताप्दै कथा हाल्ने, नाचगान गर्दै बिताउने गर्दछन् ।

बिहानै देखि महिलाहरु मीठो मीठो खाना पकाउन ब्यस्त हुन्छन् । जब रात पर्न थाल्छ, आ-आफ्ना घरमा पकाएका खानेकुरा बोकेर सबै जम्मा हुन थाल्दछन् । पुसे पन्ध्रको लामो रात कटाउन कतै कतै पन्ध्र हाते मुढो बाल्ने गरिन्छ । अन्यथा दाउरा बालेर चारैतिर घेरिएर बस्दछन् । आ-आफ्नो घरबाट ल्याएको खानेकुरा बाँडीचुडी खाने गर्दछन् । नाचगानको साथसाथै यो रातलाई कथा सुनाउने रातको रुपमा पनि लिने गरिन्छ । कथा हाल्न सिपालुले पौराणिक कथा वा लोककथा वा गाउँखाने कथा सुनाएर रात सहजै कटाउने गर्दछन् । यो रात सद्भाव र भाइचाराको पर्वको रुपमा पनि लिइन्छ । केटाकेटीहरुलाई पनि यस रात भेट्ने छुट दिइएको हुन्छ ।

पुस किसानहरुको लागि केही फुर्सदिलो महिना पनि भएको हुँदा जमघट भएर रमाइलो गर्न सहज हुन्छ । समयसंगै पुसे पन्ध्रको जमघट र आगो ताप्दै खानेकुरा बाँडेर खाने क्रम घट्दै गएको छ । कतै कतै बिकृती पनि भित्रीन थालेको छ । कथा सुन्ने र सुनाउने पनि घट्दै गएको छ ।

यसरी मगर, गुरुङ, खस तथा ब्राम्हणहरु सबैको पुस १५ बिशेष दिनका रुपमा रहेको छ । यसका साथै यस वर्षको पुसे पन्ध्रमा सोमवारे औंसी पनि पर्न गएको छ । सोमवारे ‍औंसीलाई बिशेष औंसीका रुपमा पितृदोषबाट मुक्ति तथा पतिको दिर्घायु तथा स्वस्थ्य जीवनको कामनाका लागि पनि ब्रत बस्ने गरिन्छ । यस दिन पिपलको बोटमा पूजा तथा प्रदक्षिणाका मनोकान्छित फल मिल्ने विश्वास गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button