नेपाल मगर संघ खजुरा गाउँपालिका समिति बाँकेद्वारा ४४औं मगर स्थापना दिवस भव्य रूपमा सम्पन्न
बाँके — नेपाल मगर संघ खजुरा गाउँपालिका समिति, बाँकेले ४४औं मगर स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। “ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौं । मगरात दर्शन निर्माणको संकल्प गर्दै, संघको ४४औं स्थापना दिवस मनाऔं ।।” भन्ने मूल नारासहित फागुन १५ गते खजुरा गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम सभाध्यक्ष खजुरा गाउँपालिका मगर अध्यक्ष गणेश बहादुर थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बिक (तफान) रहनुभएको थियो भने विशिष्ट अतिथिमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, नेपाल मगर संघका केन्द्रीय महासचिव टेक बहादुर रामजाली मगर, खजुरा गाउँपालिका प्रशासकीय प्रमुख दिल बहादुर पौडेल, केन्द्रीय सदस्य तथा नेपाल आदिवासीजनजाति बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगर र केन्द्रीय सदस्य चेत बहादुर राना मगरको उपस्थिति रहेको थियो।
त्यसैगरी विशेष अतिथिमा लुम्बिनी प्रदेश सदस्य कृष्ण पुन मगर, बाँके अध्यक्ष भुपेन्द्र पुन मगर लगायत रहनुभएको थियो भने अतिथिमा खजुरा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, अम्बर बुढामगर, जनक पहराई मगर, राजु थापा मगर, सुमि रोका मगर लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सांस्कृतिक झाँकी, बन्जेबाजा, मगर समुदायको परम्परागत भेषभूषासहितको र्यालीले बजार क्षेत्र उल्लासमय बनेको थियो। सभाहलमा आयोजित कार्यक्रममा नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो, जसले युवा पुस्तामा आफ्नो कला, संस्कृति र पहिचानप्रति गर्व अभिव्यक्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
सभाअध्यक्ष गणेश बहादुर थापा मगरले मगर समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कृति संरक्षणमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि डम्बर बहादुर बिक (तफान) ले मगर समुदायको योगदानको प्रशंसा गर्दै स्थानीय तहबाट संस्कृति संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
विशिष्ट अतिथि टेक बहादुर रामजाली मगरले संघको ४४ वर्षे यात्रालाई संघर्ष र उपलब्धिको इतिहासका रूपमा स्मरण गर्दै मगरात दर्शन निर्माणको अभियानलाई सशक्त बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।
तेस्तै ४४औं मगर स्थापना दिवसको कार्यक्रम संचालन तिर्थराज थापा र मोैंसमी राना मगरले गर्नु भएको थियोे ।







