
मधेस प्रदेशका विभिन्न नाकाहरु हुँदै भइरहेको तस्करीमा सशस्त्र प्रहरीकै संलग्नता रहेको गम्भीर आरोपहरु सतहमा आउन थालेका छन्।
सशस्त्र प्रहरी बल मधेस प्रदेश छिनमस्ता बाहिनीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालको प्रत्यक्ष निर्देशनमा सशस्त्र प्रहरी सहायक हवल्दार रोशन मिश्रा र सशस्त्र प्रहरी हवल्दार राजिव यादवले तस्करहरुसँग मिलेमतो गरी मधेसका सबै जिल्लामा तस्करीलाई संरक्षण दिइरहेका छन् ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका सीमा क्षेत्रहरुमा यतिबेला तस्करी खुलेआम बढ्दो छ। सीमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी नै घुमुवाको नाममा तस्करहरूसँग मिलेर महिनावारी रकम उठाउने धन्दामा लागेका छन्।
स्रोतका अनुसार, मिश्रा र यादवको सेटिङमा दैनिक लाखौंको तस्करी भैरहेको छ, जसमा भारतबाट लत्ताकपडा, काजु, किसमिस, मसला, मोटरसाइकल, इलेक्टोनिक्स सामानलगायतका सामग्री चोरी पैठारी भैरहेका छन्।
बोर्डर नाकामा सशस्त्र प्रहरीको संलग्नता?
नेपाल भारत सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी, निकासी र भन्सार छलिको नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल अहिले नाकालाई कमाई खाने भाँडो बनाएको आरोप लाग्दै आएको छ।
सीमामा खटिएका सुरक्षाकर्मीहरू नै तस्करहरूसँग साँठगाँठ गरी अवैध गतिविधिलाई प्रश्रय दिइरहेका छन्।
संस्थाको मर्म विपरीत बर्दीको कारोबार
स्रोत भन्छ- ‘मधेस प्रदेशका केही सशस्त्र प्रहरी अधिकारीहरू संगठनको मर्यादा विपरीत बर्दीलाई नै बेचिरहेका छन्। तस्करी नियन्त्रण गर्नु पर्ने प्रहरी नै तस्करको सहयोगी बनेपछि सीमाको सुरक्षा, राष्ट्रिय हित र कानुनको मर्यादा खतरामा परेको छ।’
डिआइजी ढकालको भूमिका शंकास्पद
सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले तस्करी नियन्त्रण गर्नुको साटो जिल्लावार घुमुवा खटाई लेनदेनको माध्यम बनाएका छन् भन्ने आरोप व्यापक छ।
उनी मातहतका प्रहरीलाई प्रयोग गरी तस्करीलाई ब्यवस्थित गर्न भूमिका खेलिरहेको आरोपले प्रहरी संगठनप्रति जनविश्वासलाई समेत कमजोर बनाउँदै लगेको छ।
सम्बन्धित निकायको ध्यान आवश्यक
यस संवेदनशील विषयमा गृह मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित अनुसन्धान संस्थाहरूले तत्काल गम्भीर ध्यान दिन आवश्यक छ। राष्ट्रिय सुरक्षासँग गाँसिएको सीमाको अवस्था यति कमजोर हुँदा देशको आन्तरिक सुरक्षामा समेत दीर्घकालीन असर पर्न सक्ने देखिन्छ।




