
लखन थापा मगरको १५९ औँ स्मृति दिवस सम्पन्न
नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा नेपालको इतिहासमा प्रथम शहिद लखन थापा मगरको १५९ औँ स्मृति दिवस कार्यक्रम नेपालगन्ज बुद्ध गुम्बा परिसरमा सम्पन्न भएको छ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य चेत बहादुर राना मगर रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य आइते पुन मगर र कृष्णबहादुर पुन मगरको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथि नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर, विभिन्न जातीय संघ–संस्थाका अध्यक्षहरू, नेपाल मगर संघ बाँकेका पालिका अध्यक्षहरू तथा जिल्ला कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि चेत बहादुर राना मगरले प्रथम शहिद लखन थापा मगरको योगदान नेपालको इतिहासमा अद्वितीय र प्रेरणादायी रहेको बताउनुभयो। उहाँले अन्याय, अत्याचार र निरंकुश शासनविरुद्ध आवाज उठाउँदै आफ्नो जीवन आहुति दिएका लखन थापा मगर सच्चा राष्ट्रभक्त भएको उल्लेख गर्नुभयो। “लखन थापा मगरले देखाएको साहस, आत्मबल र देशप्रेम आजको पुस्ताका लागि मार्गदर्शन हो,” उहाँले भन्नुभयो, “हामीले उहाँको बलिदानलाई स्मरण मात्र होइन, व्यवहारमा पनि अनुसरण गर्नुपर्छ।”
विशिष्ट अतिथि आइते पुन मगरले शहिदको सम्मान गर्नु भनेको इतिहास र पहिचानको संरक्षण गर्नु भएको बताउनुभयो। उहाँले लखन थापा मगरले वि.सं. १९३३ (सन् १८७६) मा तत्कालीन राणा शासनविरुद्ध विद्रोह गर्दै न्याय र समानताको पक्षमा उभिएको स्मरण गर्नुभयो। तेस्तै कृष्णबहादुर पुन मगरले मगर समुदाय मात्र होइन, सम्पूर्ण नेपालीका लागि लखन थापा मगर गौरवको प्रतीक भएको धारणा राख्नुभयो। उहाँले शहिदको बलिदानले लोकतान्त्रिक चेतनाको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
कार्यक्रममा श्रद्धाञ्जली, मन्तव्य तथा लखन तस्बिरमा अविर लगाएर सम्मान ब्यक्त गर्दै आमन्त्रित अतिथिहरुलाई प्रथम शहिद लखन थापा मगरको योगदानलाई चिरकालसम्म स्मरण गर्दै उहाँको आदर्शलाई आत्मसात् गर्दै सम्पुर्ण मगरहरुले प्रथम शहिद लखन थापा मगरलाई हामीले सम्झनु पर्ने संयोजक पुनले बताउनुभयो
नेपालका प्रथम शहिद लखन थापा मगरको १५९ औँ स्मृति दिवस कार्यक्रमको संचालन सचिव राजन राना मगरले गर्नु भएको थियोे ।




