
विशेष ब्युरो कोहलपुर बाँके
भर्खरै सञ्चालनमा आएको अत्याधुनिक भनिएको बाँकेको कोहलपुर नौबस्ता क्षेत्रीय कारागारभित्रको आन्तरिक सुरक्षा र व्यवस्थापन पूर्ण रूपमा धराशायी बनेको छ।
कारागारभित्र वर्चस्व (डनवाद) जमाउने र आर्थिक चलखेलको केन्द्र मानिने ‘चौकीदार’ पद कब्जा गर्ने होडबाजीका कारण कैदीबन्दीका दुई समूहबीच भयानक झडप भएको छ।
उक्त घटना लगत्तै जेल प्रशासनले घटनालाई मत्थर पार्नुको साटो आफ्नो आर्थिक स्वार्थ अनुकूलका व्यक्तिलाई चौकीदार नियुक्त गर्न खोज्दा कारागारभित्र थप तनाव सिर्जना भएको छ।
बिहानको शौचालयबाट सुरु भएको ‘ग्याङ वार’
विश्वस्त स्रोतका अनुसार घटनाको सुरुवात बिहान ७ बजे भएको थियो।
कारागारका वर्तमान चौकीदार दिपक केसी शौचालय गएको मौका छोपी अर्का नाइके हरि थापाको समूहले उनीमाथि अचानक साङ्घातिक आक्रमण गर्यो।
शौचालयभित्र सुरु भएको यो आक्रमणले केही बेरमै कारागारलाई रणमैदानमा परिणत गर्यो। आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोशित बनेको दिपक केसीको समूहले पनि हतियारसहित हरि थापाको समूहमाथि जाइलाग्यो। दुवै पक्षबीच भएको घरेलु हतियार र लाठी हानाहानमा केही कैदीबन्दी गम्भीर घाइते समेत भएका छन्।
घटना लुकाउन ४० कैदीको ‘रातारात’ सरुवा झडपपछि कारागारभित्र विद्रोहको स्थिति सिर्जना भएपछि जेल प्रशासनले तुरुन्तै हरि थापाको समूहलाई बाहिर निकालेर छुट्टै कोठामा थुनेको थियो। तर, घटना सार्वजनिक भएमा आफ्नो कुर्सी जोखिममा पर्ने डरले जेलर दल बहादुर बस्नेतले हतार-हतार गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई प्रभावमा पारेर सोही दिनको रातारात दुवै समूहका कुल ४० जना कैदीबन्दीहरूलाई अन्यत्र विभिन्न कारागारमा सरुवा गराए।
“जेलभित्रको वास्तविक तथ्य र सुरक्षा त्रुटि बाहिर नआओस् भन्नका लागि साक्षी र नाइकेहरूलाई रातारात गायव पारिएको हो,कारागार सम्बद्ध एक उच्च स्रोतले भन्यो।
४० जनाको सरुवा भएसँगै अहिले नौबस्ता कारागारभित्र नयाँ चौकीदार कसलाई बनाउने भन्ने विषयमा गम्भीर विवाद चुलिएको छ। जेलर दल बहादुर बस्नेतले नवलपरासी कारागारमा सजाय काटिरहेका सोहन ढकाललाई रातारात नौबस्ता सरुवा गराएर चौकीदारको कुर्सीमा राख्ने प्रपञ्च रचेको गोप्य स्रोतको दाबी छ।
कारागार नियमावली र स्थापित व्यावहारिक मापदण्ड अनुसार अर्को जेलबाट सरुवा भई आएको व्यक्तिले नयाँ जेलमा कम्तीमा १५ दिन बिताएको हुनुपर्छ।
उक्त व्यक्तिले कारागारभित्रका पुराना र सबै कैदीबन्दीको मनोविज्ञान सम्हाल्न सक्ने क्षमता राख्नुपर्छ।
तर, जेलर बस्नेतले यी सबै कानुनी र व्यावहारिक कडीलाई मिचेर ढकाललाई जबर्जस्ती नयाँ चौकीदारका रूपमा स्वीकार गर्न पुराना कैदीबन्दीहरूमाथि चरम मानसिक दबाब दिइरहेका छन्। पुराना कैदीबन्दीहरूले भने बाहिरबाट आएको र विवादित व्यक्तिलाई आफ्नो चौकीदार मान्न स्पष्ट इन्कार गर्दै आएका छन्।
कारागारभित्रको व्यापार र कमिसनको खेल
आखिर जेलर बस्नेत किन सोहन ढकाललाई नै चौकीदार बनाउन मरिहत्ते गरिरहेका छन् त? यसको सीधा सम्बन्ध कारागारभित्र हुने लाखौँको अवैध आर्थिक साम्राज्यसँग जोडिएको छ।
जेलभित्र सञ्चालन हुने चमेनागृह (क्यान्टिन) किराना पसल, तरकारी तथा खाद्यान्न आपूर्ति र कैदीबन्दीहरूले पाउने दैनिक सिधामा ठूलो आर्थिक चलखेल हुने गर्छ। जेलभित्र आफ्नो बफादार चौकीदार भएमा उक्त व्यापारबाट हुने आम्दानीको ठूलो हिस्सा (कमिसन) सोझै जेलरको खल्तीमा पुग्छ। बस्नेतले आफ्नो व्यक्तिगत आर्थिक स्वार्थका लागि सिङ्गो कारागारको सुरक्षालाई दाउमा राखेर बाहिरको मान्छे भित्र्याउन खोजेको आरोप कैदीबन्दीका आफन्तहरूको छ।
भित्रि ब्रिफिङ यदि जेलरले आफ्नो आर्थिक स्वार्थका लागि पुराना कैदीबन्दीहरूको भावना र कारागारको नियमविपरीत जबरजस्ती निर्णय गरेमा, नौबस्ता कारागारभित्र जुनसुकै बेला पनि फेरि अर्को ठूलो रक्तपातपूर्ण विद्रोह हुन सक्छ।
यस विषयमा कारागार व्यवस्थापन विभाग र जिल्ला सुरक्षा समिति बाँकेले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगर्ने हो भने नौबस्ता कारागार अपराधीहरूको सुरक्षित व्यावसायिक थलो मात्र बन्ने निश्चित छ।




