राजनीतिसमाचार

विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह


बाँके माघ २८ गते ।
बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला जनताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। जनताको हक–अधिकार, समग्र विकास र समृद्धिलाई केन्द्रमा राख्दै उनले मतदातासँग नजिकिएर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।

आज उनले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० अन्तर्गत पर्ने मनिकापुर, नटनपुर, सुकरामपुर, राँझा एयरपोर्ट क्षेत्र र रम्मेशवरपुर क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरेका छन्। घरदैलो कार्यक्रममा उनले स्थानीय समस्या, आवश्यकता र सुझावहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयहरूसँगको अन्तरक्रियामा उम्मेदवार राईले जनताको वास्तविक समस्यालाई बुझेर मात्र दिगो विकास सम्भव हुने बताएका छन्। “जनताको साथ, विश्वास र सुझाव बिना समृद्धिको यात्रामा अघि बढ्न सकिँदैन,” उनले भने, “यस पटक जनताको हक–अधिकार सुनिश्चित गर्दै विकासलाई तीव्र बनाउन छाता चिन्हमा मतदान गर्न आग्रह गर्दछु।” घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

राईले यी सबै क्षेत्रलाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आफू जनताको सेवकको रूपमा काम गर्ने बताए। उनी स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दुःख–सुख बुझ्न पाएकोमा खुसी व्यक्त गर्दै जनताको भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button