अन्यअर्थ/वाणिज्यराजनीतिसमाचार

सुख्खा संकटबीच गाउँपालिकाले सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सर्लाही ।

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने भएको छ। यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पुर्‍याउन यो कदम चालिएको उल्लेख छ। गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको प्रत्यक्ष प्रभाव खेपिरहेका किसानहरूको असहजतालाई बुझ्दै सिँचाइ योजनालाई पनि उच्च प्राथमिकतामा राखेको छ। विशेषगरी, पानीको अभावलाई सम्बोधन गर्न डिप ट्युबवेल बोरिङ जडान कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ, जसबाट कृषक वर्गलाई सिँचाइमा सहजता भई उत्पादनमा वृद्धि हुने आशा गरिएको छ।

गाउँपालिकाले सबै गाउँलेलाई यी सुविधाको लाभ लिन आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको यो कदमलाई उनको दोस्रो कार्यकालको एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। मेयर साहकै अथक प्रयासमा धनकौल गाउँपालिकाले ‘शून्य शुल्क’ को नीति अवलम्बन गरेको र यस्तो कामले जनताको मन जितेको स्थानीय बताउँछन्। संकटको बेला जनताको पीरमर्का बुझेर गरिएको यो निर्णय अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्ने देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button