समाचार

फुटपाथ अतिक्रमण हटाउने अभियान : नेपालगन्ज ट्राफिक

नेपालगन्ज
ट्राफिक नियमको बारेमा सचेतना अभियान संचालन गरिरहेको ट्राफिक पोष्ट नेपालगन्जले नेपालगन्जको फुटपाथ अतिक्रमण हटाउने अभियान थालेको छ । फुटपाथ अतिक्रमण गरि पसल संचालन भएपछि पैदल यात्रुलाई आउजाउमा समस्या भई ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि फुटपाथ ब्यवस्थापन अभियान थालेको ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ ट्राफिक प्रहरी नायव निरीक्षक प्रविण आचार्यले बताए ।


उनले धम्बोझी चोकबाट सुरु गरेको फुटपाथ ब्यवस्थापन अभियान अन्तरगत पहिलो चरणमा नेपालगन्जका मुख्य र पैदल यात्रुको भिड्भाड हुने ठाउँमा संचालन गरिएको बताए । उनले पहिलो चरण अन्तरगतको अभियानमा हालसम्म पुष्पलाल चोक, विपी चोक, घरबारी टोल, त्रिभुवन चोक, सदरलाइन, सुर्खेत रोडका फुटपाथमा अतिक्रमण गरि संचालन भएका पसलका सामान हटाउन लगाएको बताए । ‘पहिलो चरणमा फुटपाथमा पसलका सामान नराख्न र राखिएका सामान हटाउन लगाएका छौँ,’ उनले भने ।


पहिलो पटक भन्दा पनि नहटाए वा सामान फेरि राखेको पाइए कानुन बमोजिम कारवाही गरिने उनले बताए । ‘दोस्रो पटक आउँदा फुटपाथमा सामान राखेको पाइए कानुनले दिएको अधिकार अनुसार ५ सय रुपैयाँ जरिवाना गरिने छ,’ बरिष्ठ प्रहरी नायव निरीक्षक आचार्यले भने ।


उनले लामो समयसम्म सडकमा मोटरसाइकल पार्किङ गर्ने ६५ जनालाई आर्थिक जरिवाना गरिएको बताए । पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राख्नेलाई ठाउँका ठाउँ जरिवाना गरिएको बताउँदै उनले सडक ब्यवस्थित गर्न ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत भएको बताए । ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन पार्किङ गर्दा सवारी साधन जाम हुने र सवारी दुर्घटना निम्तिने खतरालाई प्रवल रहन्छ । फुटपाथ ब्यवस्थापन र पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्ने कार्यलाई रोक्न सक्ने हो भने केहि हदसम्म दुर्घटना न्यूनिकरण गर्न सकिन्छ,’ आचार्यले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button