
नेपालगन्जमा विश्व खेलकुद दिवसको अवसर पारेर गोपाल नीना फाउन्डेशन नेपालले जयन्दू बाल सुधार गृहमा खेलकुद सामग्री हस्तान्तरण गर्दै सुधार गृहमा रहेका बालकहरूको जीवनमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित सुधार गृहमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले सुधार गृह प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले कानुनी समस्यामा परेका बालकहरूको समग्र विकासका लागि यस्ता पहल अत्यन्त आवश्यक रहेको बताए। उनले फाउन्डेसनको योगदानप्रति धन्यवाद व्यक्त गर्दै यस्ता गतिविधिले बालकहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।
इन्सेकका केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यले आवश्यकताको आधारमा गरिएको सहयोगलाई उदाहरणीय बताए भने वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले फाउन्डेसनले शिक्षा, स्वास्थ्य र मानवीय सेवामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे।
कार्यक्रममा जग्गादाता जयकेश सिंह, फाउन्डेसनका कार्यालय प्रमुख दिलीप सिंह, जनसम्पर्क अधिकृत विजयन्द्र जिसी लगायतको उपस्थिति रहेको थियो। सुधार गृहमा रहेका दुई सय भन्दा बढी बालकहरू यसबाट लाभान्वित भएका छन्।
खेलकुद सामग्रीको यो हस्तान्तरण केवल सहयोग मात्र नभई सुधार गृहभित्र आशा, ऊर्जा र पुनःस्थापनाको सन्देश बोकेको पहलका रूपमा हेरिएको छ।




