राजनीतिसमाचार

विदेश पठाइदिने भन्दै ठग्दै नेपालगन्जका सिंह

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका–२३ का दश जना युवा एकै व्यक्तिबाट ठगिएका छन् । विदेश जानका लागि तीन–तीन लाख रुपैयाँ बुझाएका युवा ठगिएको थाहा पाएपछि उनीहरू प्रहरी समक्ष पुगेका छन्। डुडुवा गाउँपालिका– ६, सिख्खनपुरुवाका हरपालसिंह सिखले विदेश पठाइदिन्छु भन्दै युवालाई ठगेका हुन् ।


सिखबाट ठगिएका मोनु खाँ, आरिफ खाँ, मो. हानिफ खाँ, सकिर अलि बेहना, अस्लम शेष, सउवाल अहमद शेष, रजाक शेष, मनोजकुमार कोरी, सम्सुल शेष र फिरोज शेष प्रहरीमा उजुरी दिन पुगेका हुन् । कुवेत पठाइदिन्छु भन्दै सिखले झुक्याएका थिए । दशै जना युवालाई उडान पक्का भइसकेको भन्दै काठमाडौंसमेत लगिएको थियो । पाँच दिन काठमाडौंमा बसाएर घर फिर्ता पठाइएको थियो ।


कुवेत जानका लागि घरबाट टीकाटालो गरेर निस्सिएका युवा पाँच दिन काठमाडौं बसेर फिर्ता आएका थिए । पीडित मनोजकुमार कोरीले भने, ‘विदेश जाने भनेर टीकाटालो गरेर गएको मान्छे फेरि घर फर्किदा मलाई साह्रै नराम्रो लाग्यो । घर फर्किन मन लागेको थिएन । तर, कहाँ जानु ? मन रुवाउँदै फर्किए ।’ विदेश जान भन्दै मनोज घरबाट निस्किदा उनका घरपरिवारका सदस्यहरु रोएका थिए । विदेश जान नपाएर घर फर्किदा मनोज रोए । मनोजले २ लाख ६५ हजार रुपैया सिखलाई बुझाएका थिए ।


३५ हजार उड्ने वित्तिकै घरपरिवारले दिने भनिएको थियो । दुई लाख रुपैयाँ ब्याजमा लिएर सिंखलाई बुझाएको मनोजले बताए । एक लाखको डेढ लाख दिने गरी ६ महिनाको भाका राखेर ब्याजमा दुई लाख लिएका थिए । आरिफ खाँ किचन हेल्फरमा कुवेत जान तयार थिए । उनले तीन लाख रुपैया बुझाएका थिए ।

आरिफले दुई लाख ५० हजार ब्याजमा र ५० हजार रुपैया भिनाजुसँग मागेर दलाललाई बुझाएका थिए । भाइ अब्दुल अर्सद खाँलाई विदेश पठाउन मोनु खाँले ५ प्रतिशत ब्याजमा लिएर दलाललाई तीन लाख रुपैया बुझाएका थिए । दश जनामध्ये दुई जनालाई ‘लाइट ड्राइभर’ र आठ जनालाई किचन हेल्फरमा काम लगाइदिने प्रलोभन देखाइएको थियो । ‘विदेश पठाउ कि भने हाम्रो पैसा फिर्ता गर’ भन्दा सिखले विदेश पठाउन नसक्ने र पैसा पनि अहिले फिर्ता गर्न नसक्ने ओठे जवाफ दिने गरेको मोनु खाँले बताए । ‘हाम्रो पैसा अलिअलि गर्दै दिए पनि हुन्थ्यो ।


हरपालसिंह सिखले हामीलाई विदेश पठाउन सक्दिन । पैसा पनि अहिले दिन सक्दिन । जे गर्न सक्छौ गर भन्छन्, मोनुले थपे, विदेश जान नपाउने र पैसा पनि फिर्ता नपाउनेजस्तो देखिएपछि प्रहरीको शरणमा आएका छौं ।’ सिखले आफ्नैमा पर्ने सिख्खनपुरुवा र मसाहका तीन÷तीन जनालाई पनि विदेश पठाइदिन्छु भन्दै ठगेको उनीहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयुस जोशीले ठाडो निवेदन आएको र यस विषयमा दुवै पक्षलाई छलफलमा बोलाएर प्रक्रिया अगाडि बढाइने बताएका छन्। ‘हामी समक्ष ठाडो निवेदन आएको छ। दुवै पक्षलाई जुटाउन प्रयास भइरहेको छ,’ उनले भने,’हिजो सिख (पीडक भनिएका)ले आउँछु भन्नुभएको थियो, पछि सम्पर्कमा आउनु भएन । उहाँलाई सम्पर्कमा लिएर छलफल पछि थप प्रक्रिया अगाडि बढ्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button