
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले बाँके जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट भरत निधि तिवारी, क्षेत्र नम्बर २ मा रामचरण चौधरी र निर्वाचन क्षेत्र नम्बर ३ बाट ओमकार थापा मगरले उम्मेदवारी दर्ता गराएका हुन्। बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार थापा मगरले उम्मेदवारी दर्तासँगै चुनावी प्रतिस्पर्धामा सक्रिय रूपमा होमिएको जानकारी दिएका छन्।
यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशभर पार्टीका कार्यकर्तालाई उम्मेदवारी प्रदान गर्दै निर्वाचनमा विजय हासिल गर्न एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ। उहाँले श्रमको सम्मान र इमान्दार नेतृत्वमार्फत देश परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
पार्टीको मूल मर्मअनुसार श्रमको सम्मान, सामाजिक न्याय, स्थानीय विकास र सुशासनलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरूले चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनीहरूले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना तथा श्रममैत्री नीति कार्यान्वयनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
देश विकासका लागि नयाँ सोच, स्वच्छ छवि र इमान्दार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारहरूले सम्पूर्ण मतदातालाई पार्टीको ‘माटो’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन्।




