
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो ।
विमानस्थल स्रोतका अनुसार झण्डै ५ महिना विमानस्थल १४ घण्टा मात्रै सञ्चालन हुनेछ । आजदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन् । यअसघि विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर बन्द गरिएको बताए ।
आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । स्तरोन्नतीका लागि १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।
आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौ विमानस्थलमा आन्तरिकमा दुई तर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।




