राजनीतिसमाचार

नेपालगन्जमा किरियापुत्री भवनको उद्घाटन

नेपालगन्ज ।
नेपालगन्जमा गरिब, विपन्न तथा निजी घर नभएका नागरिकलाई लक्षित गरी किरियापुत्री घर निर्माण गरिएको छ। अब भाडामा बस्ने नागरिकले काजकिरिया गर्दा भोग्दै आएको समस्या अन्त्य हुने भएको छ। नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क नजिक शिव पार्वती टोलमा निर्माण गरिएको उक्त भवनको आज एक विशेष समारोहका बीच नेपालगन्जका मेयर प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको हो।

२०८० साल फागुन १७ गते शिलान्यास गरिएको यो भवन १० महिनामा निर्माण सम्पन्न भएको हो। करिब १ करोड रुपैयाँको लागतमा बनेको दुईतले आकर्षक भवनबाट अब काजकिरिया गर्ने किरियापुत्रीहरुलाई सुरक्षित स्थान उपलब्ध हुने छ।

निर्माण समितिका संयोजक शेम शाक्यका अनुसार कोभिड महामारीका बेला काजकिरिया गर्न नपाएका नागरिकको पीडा देखेर यो महान कार्य थालनी गरिएको हो। समाजसेवी माधवी शाहले १० लाख रुपैयाँको सहयोग गर्ने बचन दिएपछि निर्माण कार्य अघि बढेको उहाँले बताउनु भयो। उहाँले यसअघि डेण्टल हस्पिटल र धम्बोझी मावि निर्माणमा पनि नेतृत्व दिनुभएको थियो। शाक्यले भन्नुभयो “यो कार्यमा धेरै जनाको सहयोग प्राप्त भयो। कोही बोलाएर चन्दा दिनुहुन्थ्यो, कोही आफैं आएर सहयोग गर्नुभयो।”

उक्त भवन १५८ जना सहयोगीहरूको योगदानमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा सचिव बसन्त लामिछाने, सहसंयोजक रबिन्द्र कर्ण लगायतले शुभकामना मन्तव्य दिएका थिए। निर्माण समितिका अनुसार घर निर्माणका लागि सानादेखि ठूला सहयोगीहरूसम्मको योगदान रहेको छ। कतिपयले नाम नलेख्न अनुरोध गर्दै थप रकम सहयोग गरेका घटनाहरू पनि स्मरणीय बनेका छन्।

नेपालगन्जमा किरियापुत्री घरको स्थापना भएपछि अब गरिब, विपन्न तथा भाडामा बस्ने परिवारहरूले काजकिरिया गर्दा समस्या भोग्नुपर्ने छैन। यो सामुदायिक भवनले समग्र क्षेत्रमा सामाजिक सद्भाव अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button