
खजुरा, बाँके। न्यु बागमती स्पोर्ट्स क्लब को नयाँ कार्यसमिति चयन तथा पद हस्तान्तरण एवं शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। खजुरा–३ मा आयोजित विशेष कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज चन्दको अध्यक्षतामा सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको हो।
कार्यक्रममा नवगठित कार्यसमितिलाई औपचारिक रूपमा शपथ ग्रहण गराइएको थियो भने नवनियुक्त अध्यक्ष क्याप्टेन तीर्थराज थापा मगर लाई क्लबका सम्पूर्ण कागजात तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
सो अवसरमा खजुरा गाउँपालिकाका सदस्य सचिव छबिलाल बिष्ट, क्लबका संस्थापक अध्यक्ष मनबहादुर राना मगर, समाजसेवी तथा सल्लाहकार भक्तबहादुर केसी, पूर्व वडा अध्यक्ष कान्तुराम गौतम लगायत जनप्रतिनिधि, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेल विकासमा नयाँ प्रतिबद्धता
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क्याप्टेन तीर्थराज थापा मगरले न्यु बागमती स्पोर्ट्स क्लब बाँके जिल्ला र विशेषगरी खजुरा गाउँपालिकाभित्र खेलकुद विकासमा अग्रणी भूमिकामा रहेको बताउनुभयो। उहाँले क्लबले विगतमा जिल्लादेखि केन्द्रसम्म आफ्नो पहिचान बनाउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा खेलाडी उत्पादन, खेलकुद गतिविधिको विस्तार र युवालाई अनुशासित तथा सक्षम बनाउन क्लबलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, क्लबको गौरवलाई थप उचाइमा पुर्याउन स्थानीय समुदाय, खेलप्रेमी तथा शुभेच्छुकहरूको साथ आवश्यक रहेको उहाँको भनाइ थियो।
नवगठित कार्यसमिति
नयाँ कार्यसमितिमा अध्यक्ष: क्याप्टेन तीर्थराज थापा मगर चयन भएका छन्।
- उपाध्यक्ष: नन्दी पुन मगर
- उपाध्यक्ष: विजय गुरुङ
- सचिव: सन्देश थापा
- सह–सचिव: करन थापा
- कोषाध्यक्ष: मनोज पुन
- सदस्यहरू: महेश बिष्ट, सीता राना, प्रतीक योगी, गणेश खत्री, बल वीर थापा, कल्पना तमाङ, लक्ष्मी थापा रहेका छन ।
कार्यक्रममा उपस्थित वक्ताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै क्लबले आगामी दिनमा खेलकुद विकास र युवाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका पूर्व प्राध्यापक हरि प्रसाद उपाध्यायले गर्नुभएको थियो।




