
मानव सेवाको पवित्र भावनालाई आत्मसात गर्दै समाजमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित ६८औँ रक्तदान कार्यक्रम भव्य तथा सफल रूपमा सम्पन्न भएको छ।
गोपाल नीना फाउन्डेशन नेपाल र जनमत अर्द साप्ताहिकको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति समुदायको बढ्दो जागरूकता र एकता झल्काएको छ। कार्यक्रममा विभिन्न पेशा, क्षेत्र तथा उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा जम्मा ५० जनाले स्वेच्छिक रक्तदान गरेका छन्, जसमा ४५ जना पुरुष र ५ जना महिला सहभागी रहेका छन्। सहभागीहरूको सक्रियता र मानवताप्रतिको समर्पणले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।
“रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित यस कार्यक्रममार्फत आपतकालीन अवस्थामा रहेका बिरामीहरूका लागि जीवनदायी सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पुनीत कार्यमा साथ दिने सम्पूर्ण महानुभावप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानव सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।





