समाचार

खजुरामा ४४औं मगर स्थापना दिवस भव्य रूपमा मनाइने

“ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौं । मगरात दर्शन निर्माणको संकल्प गर्दै, संघको ४४औं स्थापना दिवस मनाऔं ।।” भन्ने मूल नारासहित फागुन १५ गते बाँकेको खजुरामा मगर दिवस तथा मगर एकता दिवस भव्य रूपमा मनाइने भएको छ।


कार्यक्रम खजुरा गाउँपालिका वडा नं. ३ स्थित बहुउद्देश्यीय सभाहलमा आयोजना गरिने खजुरा अध्यक्ष गणेश बहादुर थापा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ११ बजे झाँकी, बन्चेबाजा सहित खजुरा बजार परिक्रमा र्याली गरिनेछ। र्यालीमार्फत मगर समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा प्रदर्शन गरिने जनाइएको छ।


र्यालीपछि सभाहलमा औपचारिक कार्यक्रम, वक्तव्य, सांस्कृतिक प्रस्तुति तथा समुदायका अग्रज व्यक्तित्वलाई सम्मान गरिने कार्यक्रम रहेको छ। मगरात सभ्यताको ऐतिहासिक योगदानलाई उजागर गर्दै समुदायबीच एकता, सहकार्य र साझा संकल्पलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


उक्त कार्यक्रममा जिल्लाभरका मगर अगुवा, युवायुवती, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button