
तिम्रो हरेक भनाइलाई शिरोपर गर्दै गएँ,
कहिले दाइ, कहिले भाइ भन्दै भोट माग्दै गएँ।
तिम्रो कालो कर्तुतमा मौन समर्थन जनाउँदै गएँ,
तिमीले गुट फेर्यौ, चिह्न फेर्यौ,
मैले तिम्रो हरेक छलकपटमा साथ दिँदै गएँ।
तिमीलाई प्रश्न गर्नेहरू मन पर्दैनथ्यो,
तिम्रो विरुद्ध आउने हरेक प्रश्नमा ढाल बनेर सामना गर्दै गएँ।
तिमीले बनाएको सुशासन सीमित वर्गमा मात्रै सीमित भयो,
तिमीले देखाएका विकासका योजना कार्यकर्ताको घरसम्म मात्र पुग्न सफल भए।
तिम्रो शासन र ज्यादतीले मेरा मान्छेहरू विलाप गर्दै बसे,
म लाचार भएर सबै कुरा नजिकैबाट हेरिरहें।
अन्ततः, ढिलै भए पनि बल्ल महसुस भयो—
म र म जस्ता धेरै मान्छे तिम्रो लागि सधैँ ‘भोट बैंक’ मात्र बनेका रहेछौँ।




