राजनीतिसमाचार

चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा : सौभाग्य जंग शाह

नेपालगन्ज— बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह आफ्नो चुनाव चिन्ह ‘कप प्लेट’ र स्पष्ट एजेन्डासहित घरदैलो अभियानमा सक्रिय बनेका छन्। नेपाली, मैथिली र उर्दु—तीन भाषामा तयार गरिएको एजेन्डा लिएर घरघर पुगेका शाहले नेपालगन्जको बहुजातीय र बहुभाषिक पहिचानलाई सम्मान गर्दै सबै नागरिकले आफ्नो एजेन्डा बुझ्न पाउनुपर्छ भन्ने उद्देश्य राखेको बताए।

नेपालगन्जमा विभिन्न जात, धर्म र भाषिक समुदायको सहअस्तित्व रहेकाले सबै भाषाभाषी मतदातासम्म आफ्ना कुरा स्पष्ट रूपमा पुर्‍याउन तीन भाषामा एजेन्डा सार्वजनिक गरिएको शाहको भनाइ छ। “सबै नागरिकले मेरो सोच र योजना बुझ्न पाउनुपर्छ, यही मेरो उद्देश्य हो,” उनले भने।

लोकप्रिय युवा नेताका रूपमा परिचित सौभाग्य जंग शाह हाल बाँके क्षेत्र नम्बर २ मा बलिया स्वतन्त्र उम्मेदवार का रूपमा चर्चामा छन्। उनले पुराना दल र पुराना नेताहरूले वर्षौँसम्म जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै, त्यही निराशाको परिणामस्वरूप जेन–जी आन्दोलन जन्मिएको उल्लेख गरे।

“उही दल, उही नेता र उही शैलीले अब परिवर्तन सम्भव छैन,” शाहले घरदैलोका क्रममा भने, “यसपटक भोट परिवर्तनको पक्षमा जानुहोस्। यदि साँचो परिवर्तन चाहनुहुन्छ भने स्वतन्त्र उम्मेदवारलाई अवसर दिनुहोस्।”

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जसरी पनि आफ्नो चुनाव चिन्ह ‘कप प्लेट’ मा मतदान गर्न उनले मतदातासँग आग्रह गरे। उनले चेतावनी दिँदै भने, “यदि फेरि उही पुराना पार्टी र नेताहरूलाई मतदान गरियो भने जेन–जी युवाको आवाज र माग फेरि पनि अधुरै रहनेछ।”

परिवर्तन, पारदर्शिता र नागरिकको प्रत्यक्ष सहभागितालाई केन्द्रमा राख्दै अघि बढेका सौभाग्य जंग शाहको घरदैलो अभियानले नेपालगन्जमा नयाँ राजनीतिक बहस र उत्साह सिर्जना गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button