
बाँके, नेपालगन्ज–१० स्थित आदर्श माध्यमिक विद्यालयमा विभिन्न शुल्क तथा सेवा सम्बन्धी अभ्यासलाई लिएर अभिभावक र विद्यार्थीहरूबीच असन्तुष्टि थप चुलिँदै गएको छ। विद्यालयले “१००% नतिजा” र गुणस्तरीय शिक्षाको दाबी गर्दै आए पनि शुल्क असुली, बिलिङ प्रणाली र पारदर्शितामाथि गम्भीर प्रश्न उठेका छन्।
अभिभावकहरूको आरोप अनुसार विद्यालयले सरकारको निर्देशन विपरीत विभिन्न शीर्षकमा अनावश्यक शुल्क उठाइरहेको छ। विशेष गरी भर्ना सुल्कको नाममा “एनुअल फिस” नाममा एकमुष्ट रकम असुली हुने गरेको र त्यसको स्पष्ट विवरण नदिने गरिएको गुनासो छ।
त्यस्तै, कक्षा १२ को परीक्षा वैशाखमै सकिए पनि जेठ महिनासम्म मासिक शुल्क लिइएको पाइएको अभिभावकहरूले बताएका छन्। सेवा समाप्त भइसकेको अवधिमा समेत शुल्क लिइनु अनुचित भएको उनीहरूको भनाइ छ।
विद्यार्थी तथा अभिभावकहरूले कोचिङ कक्षा, अतिरिक्त शैक्षिक गतिविधि तथा बाह्य कार्यक्रमहरूका नाममा पनि जबर्जस्ती रकम असुली हुने गरेको आरोप लगाएका छन्।
त्यसैगरी होस्टेल सेवामा आकर्षक प्रलोभन देखाएर विद्यार्थी भर्ना गराइने तर शुल्क भुक्तानीपछि पनि स्पष्ट रसिद तथा बिल उपलब्ध नगराइने गुनासोसमेत बढ्दै गएको छ।
कक्षा ११ मा भर्ना गर्दा विभिन्न आश्वासन दिइए पनि व्यवहारमा ती सेवा पूर्ण रूपमा कार्यान्वयन नभएको विद्यार्थीहरूको आरोप छ।
अभिभावकहरूले विद्यालयले शुल्क निर्धारण र असुलीमा एकलौटी अभ्यास गर्दै आएको भन्दै तत्काल नियमन र छानबिनको माग गरेका छन्। साथै, होस्टेल तथा अन्य अतिरिक्त शुल्कको छुट्टै बिल उपलब्ध नगरिनु र विद्यालयले जेठसम्म मासिक शुल्क असुलीलाई विशेष रूपमा आपत्तिजनक विषयका रूपमा उठाइएको छ।
यस विषयमा सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने माग अभिभावकहरूले गरेका छन्। विद्यालय प्रशासनको आधिकारिक प्रतिक्रिया भने अझै प्राप्त हुन बाँकी छ।




