राजनीतिसमाचार

बहुमतसहितको सरकारका लागि ‘घण्टी’मै भोट हाल्नुस, विवेक कुमार श्रेष्ठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले यसपटकको निर्वाचन परिवर्तन र विकासको आधार तयार गर्ने अवसर भएको बताएका छन्। घरदैलो तथा चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उनले आफू जहाँ–जहाँ पुगे पनि मतदातालाई “यसपटकको भोट घण्टीमै हाल्नुस” भन्ने आग्रह गरिरहेका छन्।

श्रेष्ठले बहुमतसहितको सरकार गठन गर्न मतदाताको साथ आवश्यक रहेको उल्लेख गर्दै पुराना दलजस्तै काम नगर्ने प्रतिबद्धता जनाए। “हामी ती पुराना शैलीका दल होइनौं। फेरि उही गल्ती दोहोर्‍याउने हो भने देशले फेरि पछुताउनु पर्नेछ,” उनले भने, “त्यसैले यसपटक बहुमतसहितको सरकार बनाउन सहयोग गर्नुस।”

उनका अनुसार अब धर्म, जाति र विगतका आरोप–प्रत्यारोपमा अल्झिने समय सकिएको छ। “देश कस्तो बनाउने भन्ने स्पष्ट भिजनका साथ अघि बढ्नुपर्छ। गाउँ–गाउँ, बस्ती–बस्तीबाट उठेर परिवर्तनका लागि जुट्नुस,” उनले आग्रह गरे।

श्रेष्ठले रोजगारी, सुशासन, पारदर्शिता र दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताए। “हामी र हाम्रो सरकारले साँच्चिकै जनताले चाहेको देश बनाउनेछौं,” उनले विश्वास व्यक्त गरे।

रास्वपाले बाँके क्षेत्र नम्बर २ मा घरदैलो, टोलसभा र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको छ। पार्टीका नेता–कार्यकर्ता र समर्थकहरू मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button