अन्यअर्थ/वाणिज्यसमाचार

करोडौं ठगी गर्ने पूर्वअसई विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सर्वसाधरणदेखि दर्जनौ प्रहरीसँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपैयाँ ठगी गर्दै हिंडेका पूर्वप्रहरी सहायक निरीक्षक(असई) श्यामसुन्दर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा देवप्रकाश चौरासियासहित दर्जनौं पीडितहरुले ठगीमा जाहेरी दिएपछि साहविरुद्ध जिल्ला अदालत पर्साबाट साउन १५ गते पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीमै रहँदा उच्च प्रहरी अधिकारीहरुबाटै पैसा असुलेर ठगी धन्दा सञ्चालन गर्दै आएका साह पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहिन बनेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनको खोजी कार्य तिव्र बनाएपनि पाँच दिन वितिसक्दा समेत उनी पक्राउ परेका छैनन् ।

मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाका केही घुमुवा प्रहरी अधिकारीहरुले नै उनलाई संरक्षण गरेका कारण पर्सा प्रहरीलाई पक्राउ गर्न कठिन बनेको प्रहरी स्रोत नै बताउँछ । मधेश प्रदेशका डिआईजी उमाशंकर चतुर्वेदीले भने अवैध रुपमा रकम असुलेर प्रहरीकै वर्दीको बद्नाम गर्दै हिडेका साहलाई पक्राउ गर्न मातहतका निकायलाई निर्देशन दिएको अनलाइन नेपालसँग बताए ।

साहले नेटवर्किङ ब्यापारको रकम आफ्नो खातामा नहाली प्रहरीका आफन्तहरुको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ ।

साहले कुँवर र तामाङ थरकी महिलाको नाममा करोडौं रकम जम्मा गर्न लगाएको समेत खुलेको छ ।

नेपाल प्रहरीका डीआईजी, एआईजीका श्रीमतीहरु रहेको कम्पनी हो भनेर भ्रम छरेर करोडौं पैसा उठाएर पैसा फिर्ता नगरेको पीडित देवप्रकाशले नै सञ्चारमाध्यमहरुलाई बताएका थिए ।

राम्रो फाइदा हुने ब्यापार गर्नुपर्छ, डीआईजी एआईजीका श्रीमती छन् भनेर साहले आफूबाट साढे ७ लाख रुपैयाँ लगेको देवप्रकाशको भनाई छ । ४ बर्ष वितिसक्दा समेत आफूबाट लगेको साढे ७ लाख रकम फिर्ता नगरी उल्टै धम्की दिन थालेपछि देवप्रकाश लगायतका व्यक्तिहरु प्रहरीको शरणमा पुगेका थिए ।

मधेश प्रदेशमा कार्यरत अजय पटेल, नरेन्द्र चौरासिया, सुरेश यादव, प्रमोद सिंह, राजेश यादवलगायत चार दर्जन बढी प्रहरीहरु पूर्वअसई साहबाट ठगिएका छन् ।

प्रहरी स्रोतका अनुसार पूर्वअसई साहले राजमंगल सिंहसँग झण्डै ६० लाख, सुरेश यादवसँग ३० लाख र निरन सिंहबाट ५ लाख रुपैयाँ लिएको खुलेको छ । साहकै धम्कीका कारण कतिपय पीडितहरुले उजुरी दिन सकिरहेका छैनन् ।

पूर्वअसई साहले अबैध नेटवर्किङको नाममा असुलेको रकमबाट बीरगञ्ज महानगरपालिका १४ नं. वडा राधेमाईमा करोडौंको बंगला बनाएका छन् । बिलासिताका महंगा गाडी खरिद गरी उनले प्रहरीका उच्च अधिकारीको नाम लिंदै सरुवा÷बढुवा गराउने ठेक्का समेत लिने गरेका छन् ।

धिरजप्रताप सिंह मधेश प्रदेशको डीआईजी हुँदा र आईजीपी भएपछि पनि पूर्वअसई साहले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र आपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो ।

मधेश प्रदेशको डीआईजीमा यज्ञविनोद पोखरेल छँदा साहले अवैध रुपमा तस्करीको लाइन दिएर रकम असुुलेको पत्ता लगाएका थिए । र, तत्कालीन आईजीपी बसन्त कुँवरको निर्देशनमा पोखरेलले ताप्लेजुङ सरुवा गरेपछि साहले प्रहरी सेवाबाटै राजीनामा दिएका थिए ।

यसैबीच, साहले प्रहरी संगठनबाट बाहिरिएपछि पनि धम्की दिंदै पीडित ब्यापारी र हुन्डी कारोबारीहरुसँग मधेश प्रदेशका डीआईजी उमाशंकर चतुर्वेदीकै नाम लिंदै रकम असुलेको समाचार आएपछि उनले सुरुमा अनलाइन नेपाललाई धम्कीसहितको अडियो पठाए ।

अनलाइन नेपालसँग उनीबिरुद्धका हरेक समाचारको प्रमाण सुरक्षित छ । उनले धम्की दिएपछि मात्र खण्डन पठाएका छन् । खण्डनमा प्रेस आचारसंहिता २०७३ को गम्भीर उल्लंघन भएको उनले जिकिर गरेका छन् । खण्डनमा उनले भनेका छन्–‘प्रकाशित समाचार तुरुन्त हटाइयोस्, मेरो नामसँग जोडिएको झुटो समाचारप्रति खण्डन–माफी प्रकाशित गरियोस् । सम्बन्धित पत्रकार तथा स्रोत बिरुद्ध आवश्यक आचारसंहिता उल्लंघनको कारबाही प्रक्रिया अघि बढाइयोस्, समाचारका स्रोत प्रमाणित गरी झुटा–बेफाइदा समाचार सम्पूर्ण रुपमा हटाइयोस् ।’

यस्तो छ साहले अनलाइन नेपालमा पठाएको खण्डन पत्र

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button