
नेपालगन्ज । नेपालगञ्जमा फुटपाथ व्यवस्थित गर्ने कार्य सानालाई मात्र कानुन भन्ने देखिएकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाले जाेसुकैले व्यवसायीक रूपमा प्रयाेग गर्ने र सामान राखेकाे पाईए कारबाही गर्ने निर्णय सानालाई मात्रै लागू गरेकाे देखिएकाे हाे ।
नेपालगञ्जका विभिन्न क्षेत्रमा सडक फुटपाथ खुल्लारूमा अतिक्रमण गरिएको देखिएपनि मेयरदेखि वडासदस्यसम्मका स्थानीय सरकारकाे नेतृत्व गर्ने व्यक्तिहरू अन्देखा गरेका छन् ।
सडक क्षेत्र व्यवस्थित गर्ने सवालमा नियम मिच्ने सबैलाई कारबाही हुनुपर्नेमा सामान्य काम गरेर गुजारा गर्नेहरूलाई मात्र उपमहानगरपालिकाले कारबाही गर्ने गरेकाे त्रिभुवन चाेकका एक व्यापारीले भने ।
नेपालगञ्जकाे विभिन्न क्षेत्रसँगै घरबारी टोलमा समेत मानिस हिड्ने फुटपाथ सडक पेटी व्यापारीको कब्जा छ । तर हालसम्म नत नगरप्रहरी, नत स्थानीय सरकारकाे आँखा त्यहाँ पुगेकाे छ । हिड्न बनाएको फुटपाथ हिँडडुल गर्नै गारो हुनेगरी व्यापारीहरु सडकको फुटपाथमा सामान फिजाएर राख्नाले पैदलयात्रीहरुलाई सास्ती भएको छ ।
उपमहानगरालिकाले फुटपाथ खाली गर्ने निर्णयपत्र देखाउँदा पनि व्यापारीहरु साे नियम उल्लंघन गर्दै अट्टेरी गरेकाे देखिन्छ । नेपालगञ्ज शहरकै व्यस्त सडकमा गनिने घरबारी टोलको व्यापारीको यस्ताे हर्कतले बजारकाे सौन्दर्यमा असर त पारेकाे छ नै, सर्वसाधारण मानिस आफ्नो ज्यान जोखिममा राखी सडकमा यात्रा गर्नु परेको एक व्यक्तिले भने ।
“घरबारीटोलका व्यापारीहरु आफू हामी हिड्ने बाटोमा सामान राख्छन् अनि हामीले सांघुरिएर हिडेपनि शरीरले उनीहरूको झुण्डिएको सामानमा छुइदा आफूले गाली सुन्नु पर्दछ।” एक पैदलयात्री तारामान खड्काले बताए ।
समय समयमा हुने फुटपाथ हटाउने कार्य देखाउनका लागि मात्रै नगर प्रहरीले गर्छन् । नेपालगञ्जका नगर प्रहरी ईन्चार्ज, प्रहरी निरीक्षक सुर्य बहादुर बाेगटीले हाल आफू बिदामा रहेकाे र फुटपाथ व्यवस्थापनका लागि कडा निर्देशन दिएकाे बताए ।
फुटपाथ खाली गर्न सार्वजनिक सूचना जारी गरिएकाले साे सूचनाबिरूद्व जानेलाई कारबाही गरिने उनले बताए । ´कारबाही सबैलाई गरिने हाे,ईन्चार्ज बाेगटीले भने ´तर पहिलाे चरणमा सूचना जारी गरिएको छ, म फर्किएलगतै कारवाही भए, नभएकाे विवरण भन्न सक्छु ।
दिनहुँ रूपमा उपमहानगरपालिकाका नगर प्रहरी गस्तीमा निस्कँदा ठेलाको सामान उठाउन तयार हुने नगरप्रहरी व्यापारीसँग भने मुकदर्शक भएर फर्कि गरेकाे छ । नगर प्रहरीका सकेण्ड म्यान रहेका पवन कनाेजियाले हामीले अट्टेरी गर्नेलाई कारबाही गरिरहेकाे बताए ।
´हामीलाई कार्यालय प्रमुखले कडा आदेश नदिएको कारणले हामी भन्दै हिड्ने गरेको छौं, तर व्यापारीले नमानेपछि हामी व्यक्तिगत रिसिबी लिन सक्दैनौं ।` एक नगर प्रहरीले भने ।
नेपालगञ्जकाे धम्बोजी चोकदेखि बागेश्वरी मन्दिरसम्मको मुख्य बजार क्षेत्र घरबारी टोलमा व्यवस्थित गर्न एकतर्फी सवारी पार्किङ व्यवस्था गरिएपनि मनपरी ढंगले सवारी पार्किंग र व्यापारीहरूको पसलमा अव्यवस्थित सामान फुटपाथमा फिजारिदिँदा पैदलयात्रीलाई हिड्न समस्या परेको हाे ।
एक त घरबारी टोलको फुटपाथ साँघुरो छ, त्यही पनि यहाँका व्यापारीहरूले फुटपाथको अधिकांश भाग छेकिने गरी सामान झुन्ड्याउने र सामान राखिदिनाले सडकमै हिड्न बाध्य पैदलयात्री सानालाई ऐन, ठुलालाई चैन, काे संज्ञा दिन्छन् ।




