राजनीतिसमाचार

शुल्क नतिरेको भन्दै बालबालिकालाई मानसिक यातना

बाँके नेपालगन्जस्थित सल्यानी बंगला नीर रहेको गोल्डेन एबीसी विद्यालय यतिबेला विवादमा तानिएको छ। विद्यालय चर्को शुल्क असुलीका कारण निजी विद्यालयहररुप्रति गुनासो त पहिले नै रहँदै आएको थियो। तर यो विद्यालयले भने अभिभावकसँग बक्यौता उठाउने नाममा बालबालिकालाई मानसिक यातना दिने गरेको आरोप सार्वजनिक भएको छ।


नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन का केन्द्रीय सदस्य मुस्ताक अन्सारीले विद्यालयले विद्यार्थीलाई अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। उनका अनुसार, विद्यालयले २५–३० प्रतिशत शुल्क बुझाएका अभिभावकलाई पनि नस्वीकार्दै विद्यार्थीलाई सार्वजनिक रूपमा अपमान गर्ने कार्य गरिरहेको छ। “१०–१५ किलोको झोला बोकेका साना बच्चालाई आधा घण्टासम्म घाममा उभ्याइन्छ। शुल्क नबुझाएको भन्दै यस्तो यातना दिने कार्य शिक्षक र विद्यालय प्रशासनको असंवेदनशीलता हो,” अन्सारीको भनाइ छ।


यस घटनाले अभिभावक मात्र होइन, समाजमा पनि ठूलो आक्रोश पैदा गरेको छ। चाडपर्वको समयमा अभिभावकहरू आर्थिक रूपमा दबाबमा रहेका बेला विद्यालयले विद्यार्थीलाई सजाय दिनु अमानवीय र अस्वीकार्य भएको उनको तर्क छ। शुल्क तिर्ने वा नतिर्ने विषयमा अभिभावकसँग छलफल र समन्वय गर्ने विकल्प हुँदा पनि विद्यालयले बालबालिकालाई मानसिक दबाब दिने उपाय रोजेको भन्दै अन्सारीले आपत्ति जनाएका छन्। उनले विद्यार्थीको मानसिक स्वास्थ्यसँग खेलवाड नगर्न विद्यालय प्रशासनलाई चेतावनी पनि दिएका छन्।


बालबालिकामाथि यस्तो दबाब सिर्जना गर्नु शैक्षिक वातावरणका लागि खतरनाक अभ्यास हो। विद्यालयले आफ्नो वित्तीय समस्या समाधान गर्ने जिम्मेवारी बालबालिकामाथि थोपर्नु शिक्षा नीति र बालअधिकार दुवैको उल्लङ्घन हो।

यसबारे विद्यालय प्रशासनले आधिकारिक प्रतिक्रिया भने दिएको छैन। तर, घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको बाढी आएको छ। धेरै अभिभावकहरूले विद्यालयको शैलीप्रति आक्रोश प्रकट गर्दै बालबालिकालाई सम्मानपूर्वक व्यवहार गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button