
नेपालगन्ज ।
३१ औँ विश्व आदिवासी दिवस बाँके नेपालगन्ज न्युरोड गुम्बामा भव्य र समावेशी ढङ्गले मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बाँकेको आयोजना , नेपाल आदिवासीजनजाति युवा महासंघ , नेपाल मगर संघ खजुरा साखा , आदिवासीजनजाति महासंघ बाँके नेपालगन्ज उपमहानगरपालिका कमिटी र बाँकेका विभिन्न जातीय संगठनको सयुक्त सहकार्यमा दिवस बृहत् रूपमा मनाउने तयारी गरिएको हो ।
३१ औँ विश्व आदिवासी दिवस २०८२ सालको श्रावण २४ गते (सन् २०२५ अगस्ट ९) का दिन बाँके नेपालगन्ज न्युरोड गुम्बा परिसर क्षेत्रमा आयोजना गरिने नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले बताए ।
यसै सन्दर्भमा बाँकेका विभिन्न जातीय संगठनका अध्यक्ष ज्यु हरु सित नेपालगन्ज गुम्बामा बसेको विशेष बैठकले कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक तयारीलाई तीव्र बनाएको बताइएको छ ।
बैठकले कार्यक्रमको सुचारु सञ्चालनका लागि कार्यक्रम व्यवस्थापन, मञ्च तथा अतिथि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, झाँकी प्रदर्शन, स्वयंसेवक परिचालन, भेषभूषा तथा परिकार व्यवस्थापनजस्ता विविध पक्ष समेट्ने गरी उपसमितिहरू गठन गरेको छ ।
नेपाल आदिवासी जनजातिहरूको पहिचान, अधिकार, सांस्कृतिक विविधता र परम्पराको सम्मानसहित जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धन, वातावरण अनुकूलता तथा आदिवासी परिकारहरूको प्रवर्द्धनात्मक प्रस्तुति रहने नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगरले बताउनुभयो ।
समारोहमा प्रस्तुत गरिने मुख्य कार्यक्रमहरूमा विभिन्न ८ भन्दा बढी जनजातिहरूको झाँकी नाच तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ । साथै, नेवारी संस्कार, संस्कृति र परिकारसहितको “राष्ट्रिय आदिवासी जनजाति सम्मेलन समारोह“ विशेष आकर्षणको रूपमा प्रस्तुत गरिने नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष राजन राना मगरले बताउनुभयो ।
यसरी, ३१औँ विश्व आदिवासी दिवस नेपालमा निरन्तर हरेक बर्ष बृहत् रसपमा मनाउँदै आईरहेको छ । यो दिवस सांस्कृतिक उत्सवको रूपमा मात्र नभई आदिवासी जनजातिहरूको पहिचान, अधिकार र योगदानलाई उजागर गर्ने लागेको अध्यक्ष थापाले बताए ।





