राजनीतिसमाचार

२७ औं स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

नेपालगन्ज

प्रेस चौतारी नेपाल बाँकेले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ‘सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ल्याएको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रेस चौतारी बाँकेका पूर्व अध्यक्ष मोहम्मद हारुन कादरीले सामाजिक सञ्जाल पत्रकारिताको अभिन्न हिस्सा बन्दै गएको बताउँदै यसले खबर सम्प्रेषणलाई छरितो बनाए पनि गलत सूचना फैलिने जोखिम बढाएको बताउनुभयो।

“पत्रकारिताको विश्वसनीयता जोगाउन सम्पादकीय नीति र पेशागत आचारसंहिताको पालना अनिवार्य छ,” उहाँले भन्नुभयो।


कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले सामाजिक सञ्जाल पत्रकारहरूका लागि अवसर र चुनौती दुवै बनेर आएको बताउनुभयो। उहाँले “वास्तविकता छानबिन नगरी हतारमा समाचार सम्प्रेषण गर्दा पत्रकारिताको स्तर खस्किने खतरा हुन्छ,” भन्दै सामाजिक सञ्जालको प्रयोगमा सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो।


नेपाल पत्रकार महासंघ बाँकेका  अध्यक्ष नविन गिरीले सामाजिक सञ्जालले समाचार संकलन, स्रोत व्यवस्थापन र खोज पत्रकारितामा नयाँ सम्भावना थपेको उल्लेख गर्नुभयो। तर, उहाँले “नयाँ पत्रकारहरूले स्रोतको विश्वसनीयता जाँच्ने बानी बसाल्नुपर्ने” सुझाउनुभयो।


वरिष्ठ पत्रकार निरज गौतमले सामाजिक सञ्जालकै माध्यमबाट धेरै संचारकर्मीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।


नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनारले प्रेस स्वतन्त्रता कायम राख्न मिडिया संस्थाहरू बलियो हुनुपर्ने बताउनुभयो। त्यस्तै, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले पत्रकारितामा सामाजिक सञ्जालको प्रभावलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाँकेले ‘रेशम बिरही सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार तथा जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेलाई सम्मानित गरेको छ। साथै, ‘क्रियाशील पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरका पत्रकार कृष्ण चौधरी पुरस्कृत हुनुभएको छ।


कार्यक्रमको प्रारम्भमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य झलक गैरेले ‘सामाजिक सञ्जालको औचित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले सामाजिक सञ्जालको फाइदा र यसले निम्त्याएका चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए।


अन्तरक्रियामा सहभागी वक्ताहरूले पत्रकारिताको गुणस्तर सुधार गर्न, सही सूचनाको प्रवाह गर्न र भ्रामक समाचार रोक्न सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रमका आयोजक प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डागिले आगामी दिनमा पत्रकारहरूको पेशागत विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ।

पुरस्कृत तस्बिर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button