
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४, सल्यानी बागस्थित गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कूल विरुद्ध चर्को शुल्क असुल गरेको भन्दै अभिभावकहरूले गम्भीर गुनासो गरेका छन्।
अभिभावकका अनुसार कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीबाट विद्यालयले वैशाख र जेठ महिनाको मात्रै शुल्कबापत १४ हजार ६ सय रुपैयाँ लिएको छ। दुई महिनाको शुल्क अत्यधिक भएको भन्दै पीडित पक्षले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
अभिभावकहरूले दिएको विवरणअनुसार विद्यालयले विभिन्न शीर्षकमा शुल्क उठाएको छ। जसमा —
- Annual Fee : ६,६०० रुपैयाँ
- Computer Fee : १,४०० रुपैयाँ
- Tuition Fee : ६,६०० रुपैयाँ
गरी जम्मा १४,६०० रुपैयाँ लिइएको बताइएको छ।
अभिभावकहरूको आरोप छ कि सरकारले भर्ना शुल्क नलिन निर्देशन दिँदा समेत विद्यालयले “एनुअल फिस” को नाममा एकमुष्ट रकम असुल गर्दै आएको छ। साथै उक्त शुल्कको स्पष्ट विवरण, आधार तथा पारदर्शिता नदिइएको गुनासो समेत गरिएको छ।
स्थानीय अभिभावकहरूले शिक्षा क्षेत्रलाई व्यापारिक केन्द्र बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै सम्बन्धित निकायले निजी विद्यालयहरूको शुल्क संरचनामाथि अनुगमन गर्नुपर्ने माग गरेका छन् ।




