
प्युठानी युवा समाज बाँकेले सामूहिक रूपमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाएको छ। समाजका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा आयोजित होली मिलन कार्यक्रम उत्साह, उमंग र आपसी सद्भावका साथ सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले होलीलाई रङको उत्सव मात्र नभई सद्भाव, भाइचारा र खुसी साटासाट गर्ने पर्वका रूपमा लिनुपर्ने बताउनुभयो। “हामी प्युठानबाट बाँकेमा आई बसोबास गरिरहेका प्युठानीहरूबीच आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरेका हौं,” उहाँले भन्नुभयो। समाजले यस्ता कार्यक्रममार्फत जिल्लाबाहिर रहेका प्युठानीहरूलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचान जोगाउने प्रयास गरिरहेको उहाँको भनाइ थियो।
त्यस्तै संगठनका सचिव रोशन केसीले सम्पूर्ण प्युठानी दाजुभाइ तथा दिदीबहिनीहरूलाई होली पर्वको शुभकामना व्यक्त गर्दै समाजलाई अझ सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ वर्षको अवसरमा प्युठानी युवा समाजले भित्ते पात्रो विमोचन गर्ने तयारी गरेको जानकारी दिनुभयो। उक्त पात्रोमार्फत प्युठानको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनालाई बाँकेसहित अन्य स्थानमा चिनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सामूहिक रंग लगाउनु तथा शुभकामना आदानप्रदान गरिएको थियो। सहभागीहरूले एकआपसमा अबिर लगाउँदै होलीको शुभकामना साटासाट गरेका थिए।
समाजले आगामी दिनमा पनि सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा परोपकारी कार्यलाई प्राथमिकता दिँदै विविध रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको थियोे ।




