
बाँके क्षेत्र नम्बर २ जसपा नेपालका उम्मेदवार कमरुद्दिन राईले पैसाको बलमा चुनाव जित्न नसकिने बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनामा आयोजित मतदाता भेट्घाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसाको बलमा नभई मत पत्रको ब्यालेटले चुनाव जितिने बताए । ’पैसाको बलमा चुनाव जितिने भए ठूला धनाध्यहरु पराजित हुने थिएनन्,’ उनले भने ।हार्ने पक्का भएपछि केहि उम्मेदवारले ९ करोड लिएर कमरुद्दिन राई उम्मेदवारी फिर्ता लिन लागेको हल्ला बजारमा फैलाएको आरोप लगाए । ’९ करोड के ९ अर्व रुपिया दिएपनि म उम्मेदवारी फिर्ता लिन्न । यहाँ भएका सबैले छाडेर गए पनि एक्लै चुनावी मैदानमा होमीरहन्छु । एउटा माइक लिएर चुनाब क्षेत्रमा दौडिन्छु,’ उनले भने, ’बजारमा अनावश्यक हल्ला फैलाउनु भनेको हार स्वीकार गर्नु हो । म संग डराउनु भनेको मैले जित्नु हो ।’उनले पदका लागि घर छोड्नु भनेको मधेसी र मुस्लिम माथि गद्धारी गरेको बताए । ’एकजना उम्मेदवारले पदका लागि मूल घर छाडेर गए । उनले सरासर मधेसी र मुस्लिम माथि गद्धारी गरे,’ उनले भने ।
चुनाब जितेर गए एक रुपैयाँ भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउँदै उनले नेपालगंजको उपमेयर हुँदा पनि एक रुपैयाँ भ्रष्टाचार नगरेको जिकिर गरे । ’उपमेयर हुँदा एक रुपैया भ्रष्टाचार गरेको देखावस म त्यसको भरपाई गर्न तयार छु। न पहिले गरेँ न भबिष्यमा गर्ने छु,’ उनले भने ।उनले भोट दिने अधिकार मतदातामा निहित भएको बताउँदै सही उम्मेदवारलाई भोट दिन आग्रह गरे । ’अहिले सही उम्मेदवारलाई छनौट गर्न नसके ५ वर्ष पछुताउनु पर्ने छ,’ उनले भने, ’५ वर्ष पछुताउनु भन्दा बेलैमा ध्यान पुर्याउनु होला ।’
पैसा बाड्ने उम्मेदवारलाई यसपाली जनताले सबक सिकाउने बताउँदै उनले पैसाको धाक नदेखाउन चुनौती दिए । उनले भने, ’दारु, मासु, भात खुवाउदैमा चुनाब जितिदैन । चुनाब जित्न जनताको मन जित्नु पर्छ ।’




