समाचार

भोलि नेपालगन्जमा भब्य पृथ्वी जयन्ती मनाइने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाइने

नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व, अदम्य साहस र एकीकृत राष्ट्र निर्माणको महान अभियानकै कारण आजको नेपाल स्वतन्त्र, सार्वभौम र एकताबद्ध राष्ट्रका रूपमा विश्वसामु उभिन सक्षम भएको हो। साना–साना बाइसे–चौबिसे राज्यमा विभाजित तत्कालीन नेपाललाई एकीकरणको सूत्रमा बाँध्दै उनले “एकता नै शक्ति हो” भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेका थिए। पृथ्वीनारायण शाहले केवल भूगोल मात्र एकीकरण गरेनन्, उनले भाषिक, सांस्कृतिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकताको भावना स्थापित गर्ने ऐतिहासिक योगदान दिएका छन्।


उनको ‘दिव्य उपदेश’ आज पनि राष्ट्र, राष्ट्रियता, स्वाधीनता र आत्मसम्मानको संरक्षणका लागि मार्गदर्शक सिद्धान्तका रूपमा उत्तिकै सान्दर्भिक मानिन्छ। बाह्य हस्तक्षेपबाट देशलाई जोगाउने, आन्तरिक एकता मजबुत बनाउने र आत्मनिर्भर राष्ट्र निर्माण गर्ने उनका विचारहरूले नेपाललाई दीर्घकालीन दिशानिर्देश प्रदान गरेका छन्। राष्ट्रनिर्माताको यही योगदानको स्मरण र सम्मान स्वरूप हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आएको छ।

यसै सन्दर्भमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल शिवसेनाको आयोजनामा शोभायात्रासहित सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय एकता, स्वाभिमान र सांस्कृतिक चेतनाको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना हुने यस कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान, राष्ट्रप्रेम र एकताको भावनालाई उजागर गरिनेछ।


कार्यक्रम मिति २०८२ पौष २७ गते आइतबार बिहान ११:०० बजे बागेश्वरी मन्दिर पार्कबाट शोभायात्रा सुरु भई न्युरोड सेतुबिक चोकमा पुगेर औपचारिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, राष्ट्रप्रेम झल्काउने गतिविधि तथा एकताका सन्देशहरू प्रस्तुत गरिनेछन्।

आयोजक नेपाल शिवसेनाले राष्ट्रनिर्माताको योगदानलाई आत्मसात् गर्दै राष्ट्रिय एकता र स्वाधीनताको संरक्षणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण राष्ट्रप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button