अन्यसमाचार

चौंरीखर्कमा बुकी फूलको बासना

बर्खा लागेसँगै बुकी फूलले ढकमक्क चौंरीखर्कका पाटनमा आन्तरिक पर्यटकको आगमनले चहकमहक थपिएको छ।

लमतन्न पाटन। पाइला चाल्दा पनि कुल्चिएलान् जस्तो लाग्ने घाँसका टुसा। घरीघरी हुस्सुमा छोपिने डाँडाकाँडा। झन् त्यसैमाथि रंगीचंगी बुकी फूल।

यति वेला रुकुम पूर्वको भूमे गाउँपालिका-१ स्थित चौंरीखर्कको भूदृश्य मनमोहक देखिएको छ। त्यसैमाथि कमिलाको ताँती जस्तो देखिने आगन्तुकको लस्करले ज्यान भरेको छ। “आजभोलि मौसम पनि रमाइलो छ, कहिले खुल्ने त कहिले कुहिरोले ढाक्ने भइराख्छ। हरियालीमा बुकी फूलले भरिएको चौंरीखर्क आकर्षक देखिन्छ,” चौंरीखर्कबाट फर्किएका खगेश्वर भण्डारी भन्छन्। 

साउने संक्रान्तिका दिन चौंरीखर्कमा विशेष मेला लाग्छ। त्यससँगै स्थानीय बासिन्दा चौंरीखर्कतिर लाग्छन्, बुकी टिप्न। त्यसैमाथि आन्तरिक पर्यटक आउन थालेपछि चौंरीखर्कमा चहलपहल बढेको हो। 

स्थानीय बासिन्दाका अनुसार जुनसुकै मौसममा पनि चौंरीखर्क घुमफिर गर्न सकिन्छ। बर्खामा त झन् बुकी फूल फुल्ने भएकाले आकर्षण थपिन्छ। बुकी फूलले चौंरीखर्कका पाटन रंगीचंगी भएसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको भूमे गाउँपालिका-१ का वडाध्यक्ष मनकाजी पुन सुनाउँछन्। “बिदाको दिन र शनिबार त भीड लाग्छ। एकै दिन ५०० भन्दा बढी पर्यटक आउँछन्,” पुन भन्छन्। 

समुद्री सतहदेखि झन्डै चार हजार मिटरको उचाइमा रहेको चौंरीखर्कलाई स्थानीय बासिन्दाले चुङुरी बुकी भन्छन्। यस क्षेत्रबाट छेउमै रहेको सिस्ने र पुथा हिमालसँगै धौलागिरि, चुरेन र माछापुच्छ्रेसम्मका हिमशृंखलाको मनोरम दृश्यले मनै लोभ्याउँछ। ढोरपाटन, जलजला क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। “यो समय बुकी फूलको हो, तैपनि बिहानपख आकाश खुल्दा हिमालको दृश्य झनै रोमाञ्चक देखिंदो रहेछ,” भण्डारी भन्छन्। 

कुनै समय चौंरीखर्क भेडाबाख्रा, गाईभैंसी, घोडा, खच्चड लगायत घरपालुवा जनावरको चरन क्षेत्र थियो। बिस्तारै पर्यटकीय गन्तव्यमा विकास भएसँगै आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्न थालेका छन्। अहिले पनि केही स्थानीय बासिन्दाले बस्तुभाउ चराउने गरेको वडाध्यक्ष पुन बताउँछन्। 

पर्यटक आउन शुरू भएपछि भौतिक संरचना पनि निर्माण गर्न थालिएको छ। गत वर्ष पर्यटन डिभिजन कार्यालय, कोहलपुरले चौंरीखर्कसम्म गोरेटो निर्माण गरेको थियो। 

रानीवास-कोइपा सडकखण्डमा आवतजावत गर्न कठिनाइ हुन्छ। यो सडकखण्ड स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ बताउँछन्। उनका अनुसार यस क्षेत्रको पर्यटकीय विकासका लागि पर्यटन डिभिजन कार्यालय, कोहलपुर मार्फत आर्थिक वर्ष २०८२/८३ का लागि थप २५ लाख रुपैयाँ विनियोजन भएको छ।

चौंरीखर्कलाई देशका पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ। त्यसका लागि भौतिक संरचना निर्माण र प्रवर्द्धनका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको उनी सुनाउँछन्। “अहिले पर्यटकको लर्को लाग्न थालेको छ, चौंरीखर्कलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिरहेका छौं,” उनी भन्छन्। 

चौंरीखर्कको यात्रा मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्नेबाट शुरू हुन्छ। दाङको घोराहीबाट रुकुम पूर्वको लुकुम गाउँसम्म दैनिक बस चल्छ। एक हजार पाँच रुपैयाँमा लुकुम गाउँ पुगिन्छ। त्यहाँबाट १७ किलोमिटर यात्रा गरेपछि पातीहाल्ने आइपुग्छ। पातीहाल्नेबाट करीब तीन घण्टाको पैदल यात्रापछि चौंरीखर्क पुगिन्छ। 

त्यस्तै, रानीवासदेखि कोइपासम्म पदयात्रा पनि गर्न सकिन्छ। यो करीब डेढ घण्टाको हुन्छ। त्यसपछि डेढ घण्टा हिंडेर चुङुरी बुकी पुगिन्छ। कोइपाबाट करीब तीन किलोमिटर पदमार्ग निर्माण गरिएको छ। त्यसपछि झन्डै ८०० मिटर उकालो चढेपछि चौंरीखर्क पुगिन्छ। तीन दिनमा घोराहीबाट चौंरीखर्क घुमेर फर्किएका कुलदीप न्यौपाने भन्छन्, “छोटो समयमै भ्रमण गर्न चाहनेका लागि चौंरीखर्क उपयुक्त गन्तव्य हो।”

चौंरीखर्क पर्यटकीय गन्तव्यका रूपमा विकसित भएसँगै आर्थिक गतिविधि पनि बढिरहेका छन्। कतिपय पर्यटक पातिहाल्नेमा होटलमा बस्छन् भने कतिपय लुकुम गाउँमै बस्ने गरेका छन्। धेरैजसो पर्यटक आफैं क्याम्पिङ गर्छन्। पातिहाल्ने वा लुकुम गाउँबाट बिहानै चौंरीखर्कतर्फ लाग्न सकिन्छ। “टेन्ट बोकेर जाँदा झन् रमाइलो हुन्छ,” भण्डारी भन्छन्, “चौंरीखर्कमै टेन्टमा रात बिताएर बिहानै सूर्योदयसँगै हिमाल र हरियाली दृश्य अवलोकन गर्नु रोमाञ्चक हुन्छ।” हिमाल खबर बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button