अर्थ/वाणिज्यसमाचार

राप्ती खोलाबाट रातको समयमा चोरी : नेपालगन्ज

नेपालगन्ज ।

बाँकेमा नदी तथा खोलाबाट नदीजन्य सामग्री अवैध रूपमा निकासी हुने गरेको छ। विशेषगरी रातको समयमा नदी तथा खोलाबाट नदीजन्य सामग्री अवैध रूपमा उत्खनन र निकासी हुने गरेको हो।

बाँकेको राप्तीसोनारी र डुडुवा गाउँपालिका क्षेत्रका नदी तथा खोलाबाट अवैधरूपमा नदीजन्य सामग्री निकासी भइरहेको स्थानीयले बताए। अवैध रूपमा सामग्री निकासी गर्नमा केही जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको हात रहेको स्थानीयको आरोप छ। नदीमा एक्साभेटरले उत्खनन गरी टिपरमार्फत तस्करले सामग्री ओसार्ने गरेको स्रोतले जनाएको छ।

‘रातको समयमा नदी र खोलाबाट टिपरले सामग्री अवैध रूपमा ओर्साछन्’, फत्तेपुरका एक स्थानीयले नागरिकसँग भने, ‘हामीले घरायसी कामका लागि एक बोरी पनि नदीजन्य सामग्री लिन पाउँदैनौं, हामीमाथि कानुनको डन्डा तेस्र्याउँछन्, तर तस्करले दिनरात निर्धक्कसँग अवैध सामग्री ओसारिरहेका छन्।’

खोलाका तस्करहरूले नक्कली बिल बिजक तयार गरेर समेत नदीजन्य सामग्रीलाई ‘वैध’ बनाउने गरेको स्थानीयले सुनाए। राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले राप्ती नदीबाट समयसमयमा अवैध रूपमा सामग्री निकासी हुने गरेको सुनाए।

 ‘हामीले कतिपय टिपरलाई नियन्त्रणमा लिएर कारबाही पनि गराएका छौं, तर पूर्णरूपमा रोकिएको भन्न मिल्दैन’, उनले भने। तस्करले अवैध रूपमा ओसार्ने सामग्रीलाई स्थानीय क्रसर उद्योगका साथै नेपालगन्ज, कोहलपुरलगायत स्थानमा पु¥याउने गरेका छन्।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल नदीजन्य सामग्री अवैध निकासी हुने गरेको गुनासो समयसमयमा आउने गरेको बताउँछन्। ‘नदीजन्य सामग्रीको अवैध उत्खनन र ओसार–पसार रोक्ने दायित्व सबैको हो’, उनले नागरिकसँग भने, ‘गाउँपालिकाले अवैध निकासी रोक्नकै लागि केही स्थानमा ठेक्का लगाइसकेको छ।’

चोरी नियन्त्रण गर्न गाउँपालिका लागिपरेको अध्यक्ष पौडेलले बताए। राप्ती नदीका विभिन्न स्थानमा राप्ती सोनारी र डुडुवा गाउँपालिकाले ठेक्का स्वीकृत गरेर नदीजन्य सामग्री उत्खनन र ओसारपसार गर्न अनुमति दिएका छन्, तर पनि नदी तथा खोलामा चोरीनिकासी भइरहेको छ।

नागरिक दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button