
नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा स्थानीय नागरिकसँग अन्तरक्रिया तथा संवाद कार्यक्रम सञ्चालन गरेको छ।
अभियानअन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १, १७, २० र २१ मा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय नेता कमल सुवेदी र पार्वती थापासहित बाँके जिल्ला सभापति विवेक श्रेष्ठ, नेपालगन्ज नगर सभापति नवीन खड्का, क्षेत्रीय सभापति बालकृष्ण लामिछाने लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा, दैनिक जीवनमा भोग्नुपरेका समस्या, विकास निर्माण, सार्वजनिक सेवा तथा जनचासोका विषयमा जानकारी लिइएको थियो। नागरिकले उठाएका सवाललाई गम्भीरतापूर्वक सुन्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानको मुख्य उद्देश्य नागरिकका कुरा प्रत्यक्ष सुन्ने, स्थानीय तहमा रहेका समस्या पहिचान गर्ने, जनताका वास्तविक आवश्यकता बुझ्ने तथा ती समस्या समाधानका लागि आवश्यक पहल गर्नु रहेको छ।
जनताका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्याउने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवाज उठाउने तथा नागरिक र राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको छ।
यस अभियानले स्थानीय नागरिकलाई आफ्ना समस्या, सुझाव र अपेक्षा खुलेर राख्ने अवसर प्रदान गर्नुका साथै जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्न राजनीतिक नेतृत्वलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
नागरिकका गुनासा सुन्नु मात्रै पर्याप्त नभई उनीहरूले उठाएका सवालको व्यावहारिक समाधानका लागि पनि पहल हुनुपर्ने नेपालगन्ज नगर सभापति नवीन खड्काले बताउनुभयो।
उहाँका अनुसार जनताका समस्या नजिकबाट बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका अपेक्षाअनुसार समाधानको बाटो खोज्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। जनताले उठाएका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ छ।
‘हामी आउँदै छौँ’ अभियानमार्फत स्थानीय नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जनताका आवाज, आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने रास्वपाको प्रयास रहेको छ।
अभियानको प्रभावकारिता नागरिकका गुनासा सुन्नुमा मात्रै सीमित नभई उठाइएका समस्याको पहिचान, समाधानका लागि गरिने पहल र त्यसको कार्यान्वयनमा निर्भर रहनेछ। त्यसैले स्थानीय नागरिकले राखेका अपेक्षालाई व्यवहारमा उतार्न सके अभियानले सार्थकता पाउने अपेक्षा गरिएको छ।




